सीतारामदेखि धुर्मुससम्म

दुःख जिन्दगीको जग हो । दुःख- सुखको खुड्किलो हो । त्यही जगमा उभिएर ठडिएको मानिसले जीवनको सिँढी बनाउँछ । बिस्तारै उक्लिए त्यही सिँढीले शिखरमा पुुर्याउँछ, हतार गरे चिप्लिएर जमिनमा ।

जीवनको यही शृंखला बुझ्न सीताराम (कट्टेल)लाई तीन दशक लाग्यो । बिस्तारै उक्लिएर शिखरमा पुग्दा उनले आफू चढेका त्यस्ता अनेकन् खुड्किला देखे, जहाँ दुःख र सुखका अनगिन्ती डोब थिए ।

क्यानभासमा रंगिन चित्र कोर्ने र महान् चित्रकार बन्ने सपना सजाएका सीतारामको जीवनलय अहिले कलाकारिताले डोर्याइरहेको छ । कलाकारितामात्रै होइन, समाजसेवाको माध्यमबाट परिवर्तनको दियालो जगाउँदैछन् । र, आलोकित तुल्याउँदैछन् भूकम्पबाट खन्डहर बनेका वस्ती । जीवनसंगिनी कुञ्जना (घिमिरे)ले हरेक कोणबाट टेको दिइरहेकी छन् ।

बुधबार मध्यबानेश्वरस्थित आफ्नै कार्यालयमा बाह्रखरीसँग गफिँदा सीताराम असिन–पसिन थिए । भन्दै थिए, “यसरी बोल्दा लगलग काँप्छु म त ।”

० ० ०

२०४० सालमा पूर्वी नेपालको सोलखुम्बुस्थित नेचा बेतघारीमा जन्मिएका सीतारामको बाल्यकाल निकै दुःखमा बित्यो । जेठो सन्तान भएकाले उनीमाथि परिवारको आशा र भरोसा त छँदै थियो– त्यसमाथि पनि स–साना भाइबहिनी हुर्काउनु पर्ने जिम्मेवारी पनि थियो । खेती–किसानीले परिवार पाल्न कष्टसाध्य भएपछि उनको परिवारले निधो गर्यो– यहाँ बसे झनै दुःख बढ्छ, अब थातथलो छाडौं ।

त्यसपछि उनको परिवार पुख्र्यौली थलो छाडेर ०४८ मा झापाको गौरादह बसाइ सर्यो ।

४ कक्षा सोलुमै सकाएका सीतारामले प्रवेशिका गौरादह माविबाट उत्तीर्ण गरे ।

झापा झरेपछि पनि उनको परिवार दुःखबाट पार हुन सकेन । उल्टै ऋण बढ्दै गयो । साहु काढेर लिएको पैसाको ब्याज तिर्न नसकेपछि ऋण थपिँदै जानु स्वाभाविकै थियो । खेती–किसानीबाट मात्रै ऋण तिर्ने छाँट नदेखिएपछि उनको मनमा लाग्यो– अब काठमाडौं जानुपर्छ । काम पनि गर्ने र उतै पढ्ने । सोचेनन् मात्रै– हिँडे पनि ।

०५८ जेठ १९ गते राजपरिवारको वंशनाश भएकै दिन उनी काठमाडौं खाल्डो उत्रिए ।

यहाँ आएपछि पनि उनको दुःख सकिएन । झनै बढ्यो । कोठाभाडा, पढाइ खर्च जुटाउन निकै गाह्रो पो हुन थाल्यो । प्रशस्त पैसा कमाउने र घर–परिवारलाई सुख दिने भनेर सहर पसेका सीताराम आफ्नै सपनाको चक्रव्यूहमा परे । न कोही चिनेका भेटिन्थे– न कसैले कामै दिन्थ्यो । झापामा कमसेकम खान त समस्या थिएन ! यहाँ त हातमुख जोर्नै महाभारत हुन थाल्यो ।

आईए प्रथम वर्षमा उनी जम्मा १७ दिन कक्षा गए । दोस्रो वर्ष ३९ दिनमात्रै हाजिर भए । जसोतसो आईए उत्तीर्ण गरे । अहिले बल्ल स्नातक गर्दैछन् ।

कलाकारिता यात्रा

जीवन सोचेजस्तो हुँदैन । सुन्दर चित्र कोर्न जान्दथे उनी । कहिलेकाहीँ लाग्थ्यो– म राम्रो चित्रकार बन्छु होला । त्यस्तो भएन । उनी कलाकार बन्न पुगे । कलाकार बन्ने न धोको थियो, न सपना नै । त्यो पनि हाँस्य विधामा । एकपछि अर्को दुःखले दपेटिरहेको मानिसले अरुलाई कसरी हँसाउन सक्छ ?

जागिरको खोजीमा भौंतारिदा उनले बल्लतल्ल मार्केटिङको काम फेला पारे । उनी भाँडावर्तन बेच्न अनेक ठाउँ डुल्दै हिँड्थे । त्यस्तैमा एकदिन उनले कलाकार खेम शर्मा भेट्टाए । त्यतिबेला सन्तोष पन्तले निर्देशन गर्ने ‘हिजोआजका कुरा’ निकै लोकप्रिय थियो । त्यही हाँस्य टेलिशृंखलामा अभिनय गर्थे खेम ।

खेमसँगको भेट नै जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । त्यसपछि कलाकार बन्ने उनको रहर एक्कासि झांगिन थाल्यो ।

कुनै कुराको अठोट लिएपछि त्यसलाई पूरा नगरी नछाड्ने बानीले उनी आफैंलाई निरन्तर घचेटिरह्यो । र, उनी ‘हिजोआजका कुरा’मा निरन्तर धाउन थाले ।

तर, त्यसमा रोल पाउनु चानचुने कुरा थिएन । कलाकार बन्ने उत्कट अभिलाषा त थियो तर उनी संवादै बोल्न सक्दैनथे । बोल्नसमेत डराउँथे । दर्शकको अगाडि कसरी प्रस्तुत हुने भन्ने पनि थाहा थिएन । “छ महिना थाएर एउटा संवाद बोलें तर के बोलें, आफैंलाई थाहा छैन,” उनले सम्झिए ।

हरेक शुक्रबार प्रसारण हुने ‘हिजोआजका कुरा’ हेर्न हरकोही उत्सुक हुन्थ्यो । सीमित टेलिभिजन कार्यक्रम, त्यसमाथि पनि एउटामात्रै हाँस्य प्रस्तुति भएकाले देशभरिबाट मानिसहरू अडिसन दिन आउँथे । संवाद बोल्नसमेत डराउने, त्यसमाथि न ज्यान, न कलाकारितासम्बन्धी ज्ञान नै– सीतारामलाई पत्याउने कुरै थिएन । तर, खेमसँगको घनिष्टताले उनलाई कलाकारितामा अगाडि बढ्न मार्गप्रशस्त गर्यो । ‘रहरले सहरमा पुर्याउँछ’ भनेझैं उनले जितु नेपालको ‘गीताञ्जली’मा पनि अभिनय गर्ने मौका पाए । भन्छन्, “खेम शर्मासँगको चिनाजानीले नै मलाई कलाकारितामा अघि बढायो । नत्र म शायद कलाकार बन्दिनथें होला !”

कलाकार बन्ने रहरले डेरा जमाउन थालेपछि उनी थुप्रैका ढोका ढक्ढक्याउन पुगे । धेरै ठाउँमा उनले अवसर पाएनन् । मौका नपाउँदा पनि उनले हरेस खाएनन् । सानैदेखि अभाव र दुःखमा हुर्किएकाले पनि उनी छिटै विचलित भएनन् । मनमा आउँथ्यो– अहिले अवसर नपाएर के भयो ? निरन्तर लागिपरें भने एक न एकदिन कसो कलाकार नबनूँला ?

आफूलाई समस्या पर्दा सधैं उनले सम्झिए– फर्केर झापा गएँ भने मलाई भात खानै त दुःख छैन नि ! फेरि मलाई मात्रै समस्याले पिरोलेको हो र ?

तर, मनलाई जति कठोर बनाए पनि मान्छे अप्ठ्यारोमा विचलित हुन्छ । अहोरात्र मेहनत गर्दा र धेरैका दैलो चहार्दा पनि आफूले भनेजस्तो नभएपछि उनी झापा फर्किए । सोचे– काठमाडौं मेरा लागि होइन रहेछ ।

झापा फर्किएपछि उनको मन झनै वेचैन हुन्थ्यो । एक हल गोरु जोतेर जिन्दगी बित्ने भो भन्ने तनावले उनलाई सुत्न दिएन । इच्छाशक्ति मरेको थिएन । पूर्णतया हरेस पनि खाइसकेका थिएनन् । नदी एक्लै भएर पनि नआत्तिई बग्छ र सागर भेट्टाउँछ । त्यही इच्छाशक्तिले उनलाई पुनः डोहोर्याएर काठमाडौं ल्यायो ।

० ० ०

‘गीताञ्जली’मा अभिनय जमेपछि त्यहीँ काम गर्ने साथीहरूबीच ‘जिरे खुर्सानी’ टेलिचलचित्र बनाउने सोच पलायो । ‘जिरे खुर्सानी’मा काम गर्दागर्दै केही साथीहरूले गाउँले परिवेशको अर्को शृंखला बनाऊँ भनेपछि उनीहरूले ‘मेरी बास्सै’ जुराए ।

‘गीताञ्जली’मा अभिनय गर्न थालेपछि मनमा उत्साह सञ्चार भयो । र, उनले पुनः अठोट लिए– अब जस्तै अप्ठ्यारो आइपरे पनि कलाकारिताबाट कहिल्यै बाहिर निस्कन्नँ ।

“त्यतिबेला मलाई सफल हास्य कलाकार बन्छु भन्ने लाग्दैनथ्यो । तथापि मनमा राम्रो कलाकार बन्छु अथवा जहाँ जे काम गरे पनि निष्ठापूर्वक नै लाग्छु भन्ने थियो,” उनी भन्छन्, “म एक्लै बाँचेर हुँदैन, समग्र क्षेत्रलाई बचाउन सकियो भनेमात्र दीर्घयात्रा तय गर्न सकिन्छ । पेसालाई मर्यादित र व्यवस्थित बनाउन सकियो भने मात्रै त्यस क्षेत्रमा लाग्ने सबैको भविष्य सुरक्षित हुन्छ ।”

० ० ०

त्यसपछि उनी बिस्तारै टिभीमा देखिन त थाले तर कस्तो अभिनय गरें भन्ने उनैलाई थाहा नहुने । आफ्नो प्रस्तुति हेर्न उनको कोठामा टिभीसमेत थिएन । गाउँघरमा सबैले हेरें भन्थे । उनलाई लाज लाग्थ्यो ।

“के–के मिलेको छैनजस्तो लागिरहन्थ्यो । म दुरुस्त संवाद बोल्न जान्दिनथें । अरुले अह्राएको मात्र गर्थें । शारीरिक हाउभाउ र भावभंगी पनि मिल्दैनथ्यो”, उनले पुराना दिन स्मरण गरे ।

बिस्तारै टोलका मानिसले ‘तँलाई टिभीमा देखेको थिएँ नि’ भन्न थाले । त्यसो भन्दा उनी खुसीले गद्गद् हुन्थे । आत्मविश्वास अझै बढ्थ्यो ।

धुर्मुसको जन्म

पर्यटन बोर्डले सडक नाटक ‘जागरण’ तयार पारेको थियो । कीर्तिपुरमा नाटक देखाउँदा उनको अभिनय कौशल देखेर केदार घिमिरे (माग्ने बुढा) अत्यन्त प्रभावित भएछन् । ‘गीताञ्जली’मार्फत उनीहरू अझ नजिक बन्न पुगे र ‘मेरी बास्सै’मा सहयात्रा सम्भव भयो ।

‘मेरी बास्सै’मा माग्ने बुढा र धुर्मुसको जोडी जम्न थाल्यो । उनीहरूका संवाद जनजिब्रोमै झुन्डिए । त्यसपछि मिडियामा अनेकखाले समाचार आउन थाले । उनीहरूबीच व्यक्तिगत मनमुटाव छ, छुट्टाछुट्टै सुटिङ गर्छन्, सुटिङमा बोल्दैनन् भन्नेजस्ता खबर उनीहरूले पनि सुने । भन्छन्, “हामीबीच त्यस्तो केही पनि थिएन, केदारजीसँग हिजो जस्तो सम्बन्ध थियो, आज पनि उस्तै छ । म उहाँकै कारण धुर्मुस बनेको हुँ । उहाँसँग भेट नभएको भए र उहाँले सहयोग नगर्नु भएको भए म सीताराम नै रहिरहन्थें ।”

‘मेरी बास्सै’ शृंखला अघि बढ्दै थियो । त्यसको सफलताले उनीहरू पुलकित थिए । देशमा उत्पन्न परिस्थिति र चर्को लोडसेडिङका कारण उद्योगधन्दा, कलकारखाना बन्द हुने क्रम बढ्यो । विज्ञापनदाता घट्न थाले । त्यसकारण ‘मेरी बास्सै’को मुख्य प्रायोजक ‘मिडिया हब’ संकटमा पर्न थाल्यो । केदार घिमिरेले भने, “मिडिया हबले पैसा भुक्तानी गर्न सक्दैन भने हामी कसरी भोकै दर्शक हँसाउन सक्छौं ?”

तर, सीताराम त्यसमा मञ्जुर भएनन् । दर्शकसँग अपार माया गाँसिइसकेकाले उनलाई लाग्यो– जसरी पनि ‘मेरी बास्सै’लाई अगाडि बढाउनैपर्छ । र, उनले निरन्तरता दिइरहे । त्यसपछि केदार र सीतारामबीच सम्बन्धमा दरार आएको गाइँगुइँले मलजल पाएको हो ।

सीताराम नम्र स्वभावका छन् । व्यक्तिगत रूपमा कसैलाई चिढ्याउन चाहँदैनन् । तर पनि मान्छेहरू उनीसँग नजिकिएनन् । कसैसँग दोहोरो भनाभन, झै–झगडा र तीतो वचन नबोल्दैमा किन मानिसहरू टा–टाढा हुन्छन् भन्ने प्रश्नले उनलाई घोचिरह्यो ।

र, आइन् सुन्तली (कुञ्जना)

०६० मा दमन रुपाखेतीले ‘लौ न सतायो’ भन्ने डमी टेलिचलचित्र निर्माण गरेका थिए । त्यसको व्यवस्थापक सीताराम थिए । कलाकारको रूपमा आइपुगेकी थिइन्– कुञ्जना घिमिरे ।

कुञ्जनासँग उनको पहिलो भेट त्यहीँ भयो । निकै लजालु स्वभावका थिए सीताराम । बोल्न धकाउँथे । उनले सुनाए, “केटीसँग बोल्ने भनेपछि झन् ओठबाट शब्दै झर्दैनथे ।”

तर, पनि कुञ्जनासँग दोहोरो कुराकानी हुन समय लागेन । उनको शील स्वभाव र बोलीवचनबाट अत्यन्त प्रभावित हुन पुगे सीताराम । ‘मेरी बास्सै’सम्म आइपुग्दा दुवै एकै रथका दुई पांग्राजस्ता भइसकेका थिए । त्यसलाई अझै घनिष्ट बनाइदियो धुर्मुस्–सुन्तलीको ‘अनस्क्रिन’ जोडीले । देशविदेशका कार्यक्रममा जाँदा उनीहरू सँगै हुन्थे । सँगै दुःख–सुख भोगे ।

सीतारामको कलायात्रामा कुञ्जनाले सुरुदेखि नै सघाइन् । त्यही कारण पनि सीतारामको मनमा माया अंकुरित भइसकेको थियो । उपयुक्त मौकामा उनले त्यो अभिव्यक्त गरे । सीतारामसँगको सहयात्रामा कुञ्जनाले कलाको सुरुवाती बाटो छिचोलेकी थिइन् । चिन्ने र जान्ने मौका पाइसकेकाले सीतारामको प्रस्तावलाई उनले इन्कार गरिनन् । आत्मीयताको डोरी कसिन कहाँ बेर लाग्थ्यो र ! अन्ततः त्यो लगनगाँठोमै परिणत भयो ।

दुःखबाट आएकाले उनले सोचेका थिए– जीवनसंगिनी पनि त्यस्तै दुःख बुझेकी होऊन् । घरपरिवारमा भिज्न सक्ने, बा–आमालाई सत्कार गर्ने, भाइबहिनीलाई माया दिने, दुःखमा नआत्तिने र सुखमा नमात्तिने । कुञ्जनामा ती सब गुण थिए ।

सीतारामको नजरमा कुञ्जना अत्यन्त निडर छिन् । उनमा दृढ आत्मबल छ । आँटिलो र साहसिलो पनि छिन् । त्यसका अतिरिक्त उनमा अन्याय सहने र अन्यायमा परेको हेर्ने बानी पटक्क छैन । मनैबाट माया पलायो भने कुनै पनि आवेगले रोक्न सक्दैन । सकेन पनि ।

कसरी हुर्कियो धुर्मुस् ?

कलाकारिताका क्रममा सीताराम विभिन्न ठाउँ पुग्थे । उनी जहाँ पुग्थे कोही न कोही नौला र अनौठा मानिस भेट्थे । भेटिएकामध्ये कसैको व्यक्तित्व त कसैको बोलीचालीले छुन्थ्यो । त्यसलाई टपक्क टिप्ने खुबी छ उनको ।

धुर्मुस् पात्र पनि त्यसैगरी जन्मिएको हो । उनले भाँडावर्तन बेचबिखन गर्न हिँड्दा फेला परेका एकजना मित्रको नक्कल हो धुर्मुस् । समाजमा भेटिने विभिन्न पात्रलाई उसकै हाउभाउसहित प्रस्तुत गर्दा त्यो सफल हुने ठान्छन् सीताराम ।

धुर्मुस् पात्र हिट भइसकेको थियो । कोठामा टिभी नभएकाले उनी बानेश्वरस्थित एकजना आफन्तको घरमा जान्थे । धेरै जना सँगै बसेर ‘मेरी बास्सै’ हेर्ने क्रममा एकजना बाजे पछाडि बस्थे । ती बाजे टिभी हेर्दैनथे तर अरु हाँसेपछि खित्का छाड्थे । त्यही दुरुस्त पात्र हो ‘मुस्कान पासा’ ।

आफूलाई विभिन्न पात्रमा ढाल्न निकै अनुसन्धान र गृहकार्य गर्नुपर्ने उनी बताउँछन् । व्यक्तिको लवज र भावभंगीको ‘क्यारिकेचर’ गर्न कठिन हुने भए पनि करिब दर्जन त्यस्ता पात्र उनले ‘मेरी बास्सै’मा जन्माएका छन् ।

कहिले भरि पेट त कहिले आधा पेटमै उनले दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । प्रहसन सजिलो विधा होइन । जिल्लाका महोत्सव र विभिन्न स्टेज कार्यक्रममा धुर्मुस आउने भनेपछि मानिसहरू १० दिनको बाटो हिँडेरसमेत कार्यक्रम स्थल आइपुगेका छन् । बालकदेखि वयोवृद्धसम्म उनको प्रहसन सुन्न लालायित हुन्छन् । यद्यपि उनका आफ्नै दुःख छन् ।

अचेल उनी आफ्नोमात्र होइन, अरुका पीडा भुलाउन पनि हँसाउँछन् । भन्छन्, “समाजमा मानिसहरूका अनेक खालका दुःख, पीर र व्यथाहरू छन् । तिनलाई भुलाउन म हसाँउने प्रयास गर्छु ।”

पर्दाबाहिर

स्क्रिन र स्टेजमा उनको अभिनय र संवाद बोल्ने शैली जति सशक्त छ, वास्तविक जीवनमा भने उनी त्यस्ता छैनन् । उनलाई कसैसँग बोल्नुपर्यो भने अहिले पनि पसिना छुट्छ । निःशब्द हुन्छन् उनी । भन्छन्, “खै मलाई के हुन्छ ! म फटाफट बोल्नै सक्दिनँ । केही बिग्रियो कि भन्ने कुराले थिचिरहन्छ ।”

सार्वजनिक कार्यक्रममा औपचारिक मन्तव्य राख्दा होस् या कसैसँग कुराकानी गर्दा– उनलाई धक लाग्छ । हातगोडा काँप्न थाल्छन् । ओठमुख सुकेर खङ्ग्रङ्ग हुन्छ । तर, जब उनी स्टेजमा उक्लिन्छन् वा अभिनय थाल्छन्, अर्कै मान्छे भइदिन्छन् ।

समाजसेवा

अहिले उनी ‘मेरी बास्सै’का अतिरिक्त उनी चेतनामूलक लघु चलचित्र निर्माण गरिरहेका छन् । ‘लोटे चर्पी’, ‘ज्योति’, ‘मुन्नी’ लगायत बालमैत्री चलचित्र निर्माणमा जुटेका छन् सीताराम । बाल सिकाइमा ध्यान पु¥याउने हो भने त्यो राष्ट्र विकासमा निकै सहयोगी हुने उनको बुझाइ छ । भन्छन्, “आजका बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउन सकियो भने भोलिको नेपाल साँच्चै समृद्ध हुनेछ ।”

कलाकारितामा उनको लगाव जत्ति छ, त्यत्तिकै समाजसेवामा पनि सक्रिय छन् । कलाकारिता गरेर उनले जुन उचाइ हासिल गरेका थिए, त्यसलाई अझै शिखरमा पुर्यायो भूकम्पपछिको यात्राले ।

‘दुःख बेहोरेको मानिसले अर्काको दुःख बुझ्छ’ भनेझैं उनी कुञ्जनासँग भूकम्पमा घरबास गुमाएहरूको पीडामा मल्हम लगाउन दत्तिचित्त बने । त्यसैक्रममा उनीहरूले साढे ६७ लाख रुपैयाँ लागतमा काभ्रेको विपन्न पहरी समुदायका लागि एकीकृत नमुना बस्ती बनाए ।

त्यसको चौतर्फी प्रशंसा भयो । नसोचेको चर्चा बटुले । पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री, राजनीतिकर्मी, समाजसेवी, कलाकार सबै पुगे नमुना बस्ती हेर्न । त्यसले उनीहरूलाई झनै उत्प्रेरणा जगायो ।

एकीकृत वस्तीमात्र होइन, तराई–पहाडबीच सद्भाव कायम गर्न सेतुको भूमिका निर्वाह गरे । सरसफाइ सद्भावना दूत भएर उनीहरू विभिन्न चेतनामूलक काममा उत्तिकै सक्रिय भए । अहिले उनीहरू सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरका भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती बनाउन लागिपरेका छन् । केही दिनअघि शिलान्याससमेत भइसकेको छ । फेरि पनि वस्ती बनाउनु सामान्य कुरा होइन । यथेष्ट पैसा चाहिन्छ । तर उनलाई यसको फिक्री छैन । भन्छन्, “सकारात्मक उद्देश्य लिएर निर्माणका जुटेका छौं, सहयोगी हात थपिँदै जान्छन् ।”

त्यसो त पहरी वस्ती निर्माणका लागि रकम अभाव भएपछि उनीहरूले घर बेचेरै भए पनि निर्माण टुंग्याउने निधो गरेका थिए । तर, कामको प्रचारप्रसार हुन थालेपछि घर बेच्न भने परेन ।

“दर्शकको मायाले जोडेको घर दर्शककै जीवन रक्षाका लागि सुम्पने निधो गरिसकेका थियौं,” उनले भने, “तर सबैको सहयोग पाएका कारण घर बेच्न भने परेन ।”

अहिले पनि रकम जुट्नेमा उनी विश्वस्त छन् । आग्रह गर्छन्, “एकीकृत वस्ती बनाउने भनेर भावनामा बहकिएका पो छौं कि ! सल्लाह दिनुस् । राम्रो गरिरहेका छौं भने सहयोगको हात बढाउनुस् ।”

एकीकृत वस्ती नभएकै कारण मुलुकको विकास पछि परेको हुँदा अब सरकारले यतातिर ध्यान दिनुपर्ने उनको सुझाव छ । त्यो अर्थमा भूकम्प ‘अवसरको द्वार’ भएको उनी बताउँछन् । पुनर्निर्माण प्राधिकरणलाई उनले यही सल्लाह दिएका छन् ।

“एकीकृत वस्ती नहुँदा भूकम्पमा बढी क्षति भएको हो,” जाँदाजाँदै सीतारामले भने, “बत्ती, पानी बाटोलगायत विकासका पूर्वाधार वितरणमा पनि असुविधा भएको हो । अब बन्ने वस्तीहरू एकीकृत नै हुनुपर्छ, सरकारलाई सबैले घच्घच्याऊँ ।”
- बाह्रखरी डट कम