झुटो मायाजालमा एक करोड डुब्यो वीरगन्जका आकाश सिकारियाको

वीरगन्ज : झुटो मायाजालमा पारेर प्रेमीको एक करोड भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा नौ महिनादेखि जेलमा रहेकी प्रेमिका रिहा भएकी छन् ।

प्रेमको नाटक गरेर एक करोड ठगीमा संलग्न युरिका ढकाल
वीरगन्ज मुर्लीका युवक आकाश सिकारीयालाई प्रेमको झुठो आश्वासनमा पारेर एक करोड ६ लाख रुपैयाँ ठगी गरेकी युरिका ढकाललाई जिल्ला अदालत पर्साले गत साउन २० गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । 

साउनदेखि वीरगन्ज कारागारमा रहेकी युरिकालाई सर्वोच्च अदालतले बिहीबार साधरण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी शुक्रबार कारागारबाट रिहा भएकी हुन् । 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र दीपकराज जोशीको इजलाशले युरिकालाई साधरण तारखेमा रिहा गर्न आदेश दिएको थियो ।

गत साउन २० गत पर्सा जिल्ला अदालतले र कात्तिक १२ गते पुनरावेदन अदालत हेटौँडा दुवैले भने  युरिकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए ।

सर्वोच्च अदालतको आदेशमा पुनरावेदन अदालत आदेश बदर गरिएको उल्लेख छ । तर जिल्ला अदालतको आदेशबारे भने सर्वोच्चको आदेशमा केही उल्लेख छैन । 

सर्वोच्च अदालतमा बिहीबार भएको बहसमा जाहेरवाला आकाशको तर्फबाट अधिवक्ताहरु वीरेन्द्रप्रसाद यादव, सन्तोषकुमार महतो तथा निवेदक युरिकाको तर्फबाट वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, अधिवक्ताहरु सोमनाथ सापकोटा र गजेन्द्रबहादुर थापा तथा विपक्षी नेपाल सरकारको तर्फबाट उपन्यायाधीवक्ता हरिशंकर ज्ञवालीले बहश पैरवी गरेका थिए ।

साउन २० गते जिल्ला अदालतमा सरकारी वकिल र अदालत दुवैसँगको बयानका क्रममा युरिकाले आफूले आकाशसँग पटक पटक गरेर ७९ लाख रुपैयाँ रकम लिएको स्वीकार गरेकी थिइन् । 

यस्तै दुवै बयानमा युरिकाका बुवा हिक्मत ढकालले पनि आफूले आकाशसँग ६ लाख ९० हजार रुपैयाँ लिएको सकारेका थिए ।
झुटो प्रेमको नाटक गरी युरिकाबाट एक करोड ठगिएका आकाश

आकाश सिकारीया, पेट्रोलियम पर्दाथर्का व्यवसायी रामजी सिकारीयाका छोरा हुन् । युरिका झापाको अर्जुनधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् ।

युरिकाले मायाप्रेमको झुटो जालमा पारेर आफुसँग एक करोड ६ लाख रुपैयाँ ठगी गरेको भन्दै आकाशले गत असार महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । 

आकाशको उजुरीको आधारमा पर्सा प्रहरीले युरिका, उनका बुबा हिक्मत र भाइ मन्जिललाई गत असार २८ गते ललितपुरबाट पक्राउ गरि तीनैजना विरुद्ध ठगी मुद्दा दर्ता गरेको थियो । 

चार वर्षदेखिको प्रेम सम्बन्धलाई साकार पार्न आकाशले काठमाडौँमा रहेकी प्रेमिका युरिकालाई बिहे गर्नका लागि गत जेठ १० गते वीरगन्ज बोलाएका थिए ।

तर, काठमाडौँबाट वीरगन्ज आएकी युरिकाले आफू अर्कैकी श्रीमति भएकाले बिहे नगर्ने बताएपछि आकाशले आफू ठगिएको थाहा पाएका थिए । 

अविवाहित भनिएकी पे्रमिका अर्कैकी श्रीमति भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । 

आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका, उनका बुबा र भाइले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन् । 

७९ लाख रुपैया बैंक र आइएमईमर्फत युरिका र उनकी दिदी अरिका महतको खातामा तथा बाँकी २७ लाख रुपैयाँ नगद नै दिएको आकाशको भनाइ छ । 

उजुरीसँगै आकाशले युरिकाको बैंक खातामा रकम पठाएको बैंकको स्टेटमेन्ट, युरिकाले बनाएका दुई नागरिकता लगायतका प्रमाणहरु पनि पेश गरेका थिए । 

युरिकाको सात वर्ष पहिले काठमाडौंको महाबौद्ध निवासी भुपेन्द्रराज भण्डारीका छोरा लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेको छ । उनका ६ वर्षका छोरा पनि छन् । 
- अन्नपूर्ण पोष्ट