एक महिनामा यूएईमा ४ नेपालीले ज्यान गुमाए

१४ चैत, काठमाडौं । रोजगारीका सिलसिलामा यूएई आएका नेपालीहरु अकालमै ज्यान गुमाउनेक्रम पछिल्लो एक महिनामा हृवात्तै बढेको देखिएको छ । सडक पार गर्ने क्रममा, पौडी खेल्ने क्रममा, आत्महत्या र हृदयाघातका कारण एक महिनाको अवधिमा चार जना नेपालीहरुको अकालमा ज्यान गएको छ ।

झापा जिल्ला, तोपगाछी-७ केराधापका भवनाथ भण्डारी ‘भुपेन्द्र’ को गत महिना समुद्रमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । दुबईको एक सेक्युरिटी कम्पनीमा कार्यरत भण्डारीको शव काठमाडौंका कुमार लामाको सहयोगमा नेपाल पुगिसकेको छ । निजले कम्पनीबाट पाउने तलब, उपदानको करिब चार हजार छ सय दिराम्स रकम नेपाली दूताबासले झापा जिल्ला प्रशासन कार्यालयमार्फत् पाउने गरी पठाइसकिएको दूताबास स्रोतले बताएको छ ।

गत दशैंको बेलामा क्लिनरका रुपमा यूएई आएकी काठमाडौं, नयाँ बस्तीकी सानुमाया तामाङले दुबईको आफ्नै बाथरुममा झुण्डिएर दुई हप्ताअघि आत्महत्या गरिन् । उनको शवलाई नेपाल पठाउन आवश्यक कागजात दूताबासले प्रदान गरिसकेको नेपाली दूताबासका द्वितीय सचिव कृष्ण अर्यालले बताए ।

आफ्नै विवाहको लागि सामान खरिद गरी नेपाल जान तयारी गरिरहेकी काठमाडौंकी दीपा राईले पनि सडक पार गर्ने क्रममा गत १८ मार्चमा दुबईको अलकुजमा सवारी साधनको ठक्करबाट अकालमै ज्यान गुमाइन् । एक होटलमा कार्यरत २६ वर्षीया राईसँगै दुर्घटनामा परेेकी अर्की नेपाली युवतीको दुबईमै उपचार भइरहेको छ ।

त्यस्तै गत २५ मार्चमा बाग्लुङ जिल्ला स्थायी घर भएका ३९ वषिर्य प्रदीप थापाको हृदयाघातका कारण मृत्यु भएको छ । विगत ५ वर्षदेखि फुजेराको एक सेक्युरिटी कम्पनीमा कार्यरत थापाका दुई छोरी, एक छोरा र श्रीमती रहेको एनआरएन फुजेरा क्षेत्रका अध्यक्ष कृष्ण गिरीले बताए । आफु कार्यरत कम्पनीमा नेपालीको निधन भएका कारण मृतकको शवलाई नेपाल पठाउन, क्षतिपूर्तिका लागि पहल गर्न सहज हुने उनले बताएका छन् ।

स्मरण रहोस्, एनआरएन यूएई, नेपाली समाज लगायतका सामाजिक संस्थाहरुले सर्वसाधारण नेपालीहरुलाई अकाल मृत्यबाट जोगाउनका लागि जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।
- अनलाइनखबर