'नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुनौलो छ'

बुवा बागलुङ जिल्लाको विकट ठाउँ खुंखानी र त्यस क्षेत्रमा नाम चलेका पंचायति ब्यबस्थाको हर्ताकर्ता । एक कार्यकाल होइन, १७ बर्ष  प्रधानपञ्चको छडी र हैकम चलाएका बुवाकै बिरुद्ध नितान्तै नयाँ राज्यब्यबस्था र विचारको वकालत गर्दै गाँउ वडाका चोटाकोटामा संगठन गरेका थिए खगेन्द्र छन्त्यालले । खान लाउनको समस्या थिएन उनलाई तर पंचायति कालारात्री विरुद्ध सचेत आवाज उठाउदै आन्दोलनमा लाग्दा धेरै कुराहरु गुमाए । 

०४६ को जनआन्दोलन पश्चात सकृय राजनीतिबाट बाध्यात्मक परिस्थितीले झन्डै दुई दशक विदेशी भूमिमा रगत र पसिना चुक्ता गरी स्वदेश फिर्ती लगत्तै पुन: राजनीतिमा होमिएका छन । हाल नेकपा (क्रान्तिकारी माअोवादी) का नेवा: राज्यसमितिमा आफ्नो शसक्त जिम्मेवारी र अखिल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चा, नेपालका सह-संयोजकको भूमिका निर्वाह गर्दै आउनुभएका छन्त्याल संग विगत देखी विदेश सम्मका अनुभूती र एमाओवादी र बैद्य माओवादी बीच एकताको बजार हल्ला बारे केन्द्रित रहेर गरिएको अन्तर्वार्ता : 

०४६ को जनआन्दोलनको उत्सर्गको बेला तपाईंको राजनतिक गतिविधी एकदमै उच्चतम बिन्दुमा पुगेको थियो । समाजमा भएका कुरिति, पंचायती दबदबा र भ्रष्ट सुदखोर विरुद्ध शसक्त रुपमा लाग्नुभएको कृयाशिल र सचेत ब्यक्ती एकाएक लामो समय गायब हुनुभयो । कारण के थियो ?

मैले ०४४ सालमा तत्कालिन नेकपा (मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको सदस्यता ग्रहण गरेर कम्युनिस्ट आन्दोलनमा अगाडि बढेको थिए । त्यसपछि ०४७ सालमा मात्र पार्टीको सदस्यता लिएको हो । यहाँनेर के प्रष्ट पारौं भने सहायक संगठनको सदस्य बन्नको निम्ति संगठनको बिधान र घोषणापत्र मान्नुका साथै मालेमावादलाई पथप्रदर्शक सिद्दान्त मान्नु पर्ने हुन्छ । जनबर्गीय संगठनको सदस्यले  सम्बन्धित संगठनको घोषणापत्र मात्र माने पुग्छ । सहायक संगठनले जनताको सामू जानुपर्दा पार्टीको एउटा अंगको रुपमा जान्छ भने जनबर्गीय संगठनले स्वतन्त्र संगठनको रुपमा जानुपर्ने हुन्छ । सहायक संगठनको सदस्यता लिनेले समग्र देश र जनताको निम्ति लड्ने प्रण गर्नुपर्दछ तर जनबर्गीय संगठनको सदस्यता ग्रहण गर्दा पेशागत हकहितको निम्ति मात्र लड्ने प्रण गरे पुग्छ ।  भन्नुको मतलव कम्युनिस्ट पार्टीको सहायक संगठनको सदस्य बन्नु भनेको मिनी कम्युनिष्ट बन्नु जस्तै  हो । मैले शुरुमा एउटा कम्युनिस्ट पार्टीको सहायक संगठनको सदस्यको हैसियतमा सकृयाता जनाए र ०४६ सालको जनान्दोलन अघि पछि पार्टी संगठनद्वारा आयोजित कार्यक्रमहरुमा आफुलाई सरिक बनाएको थिए । 

जहाँ सम्म गायब हुनुभयो भन्ने कुरा छ, कम्युनिष्ट आन्दोलन भनेको विचारको आन्दोलन हो । जुनदिन सम्म मान्छे विचारमा अडिग रहन्छ, विचलित र स्खलित हुदैन त्यो दिन सम्म उसले कुनै न कुनै ढंगले यो या त्यो रुपबाट आन्दोलनमा उपस्थिति जनाईराखेको हुन्छ । हो, एउटा निश्चित भूगोलभित्र ब्यक्तिको भौतिक उपस्थिति देखिरहेको अवस्थामा अचानक त्यो भूगोलमा भौतिक उपस्थिति नदेख्दा मनमा चिसो पस्नु स्वभाविक नै मान्नुपर्दछ तर आत्तिनु र मात्तिनु पर्ने स्थिति चाही होईन । 

मेरो हदमा भन्नुपर्दा सानै उमेरमा घरपरिवार, जहान बच्चाको जिम्मेवारी, पार्टी र क्रान्तिको अभिभाराका बीच उचित सन्तुलन मिलाउन नसक्दा म चरम आर्थिक संकटमा फस्न पुगेँ ।  स्वदेशमै बसेर आस्थामा चोट नलाग्ने गरि केही गर्दा यो संकटबाट मुक्त हुन् सकिन्छ कि? भनेर धेरै उपाय र बाटाहरु हेर्ने, हिड्ने काम पनि भएका थिए ।  तर सबै अर्थहीन प्रयास मात्र भए । अनन्त: मेरो अगाडी दुई विकल्प मात्र रहे ।  विचार र आस्था मेटेर संकट मुक्त भै स्वदेशमा बस्ने वा मनभरी सजाउदै विदेशतिर लाग्ने ? अबश्य पनि मेरो निम्ति पछिल्लो बाटो उपयुक्त थियो र मैले सोहि बाटो हिड्ने निधो गरेँ । ०४६ सालको जनान्दोलनको ठीक एक बर्षपछि अर्थात ०४७ को चैत्र १,२,३ गते काठमाडौँमा सम्पन्न अखिल नेपाल युवक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिनको निम्ति कार्य क्षेत्र छोडेर काठमाडौँ हिडेको म त्यही सालको जेष्ठ महिनामा नेपाल नै छोडेर विदेशतिर लागेँ । हतार हतार पार्टीमा कुरा राखें, अनुमति लिएँ अनि मन अमिलो बनाउदै विदेश हान्निए । 

परिवारको राजनितिक पृष्ठभूमीमा नै धावा बोल्नु भएको थियो, त्यसरी धावा बोल्न तपाईंलाई के कुराले अभिप्रेरित गरेको थियो ?

तपाईले भन्नु भए जस्तो धावा नै बोलिएको त होईन । लगभग धेरै राजनीतिककर्मीहरुको परिवारमा भैरहेको जस्तै मेरो परिवारमा पनि वैचारिक मतभेद चाही भएको हो । यसलाई मैले सामाजिक बिकास संगसंगै प्रत्येक पिढीमा भएको स्वभाविक विचारको बिकासको रुपमा लिएको छु । बुवा पंचायती ब्यबस्था अन्तर्गत १७ वर्ष प्रधानपन्च, बहुदल पश्चात दाजु काँग्रेसका गाविस अध्यक्ष र म चाँही कम्युनिष्ट कार्यकर्ता । फेरिपनि विचारमा विभेद भएकै कारण हाम्रो परिवारमा त्यस्तो कुनै असहज परिस्थिति उत्पन्न भएन । यो सुखद पक्ष हो भन्ने लागिरहेको छ । जहाँसम्म परिवारले बाजे बराजु देखि मान्दै र ब्यहोर्दै आएको कुरीति र कुसंस्कारहरुलाई कुल्चने र त्यसका बिरुद्ध सिंगो परिवारलाई नै कन्भिस गर्ने काममा उत्प्रेरित गर्ने स्रोत भनेको विचार नै हो ।

विदेशमा कति बर्ष बिताउनु भयो ? विदेशमा पनि राजनीतिलाई निरन्तरता दिनु भयो ?

सोचे जस्तो हुन्न जीवन .......भन्ने गीत जस्तै भयो मेरो जापानको सपना र सोचाईहरु ।  एकातिर आफ्नो सपना अर्कोतिर जापानको वस्तुस्थिती । यही दोहोरीमा रुमल्लिदै जीवनको सबिअभन्दा उर्वर र सिर्जनशील १८ बर्षहरु त्यहा  बिते । राजनीतिको निरन्तरताको बारेमा 'नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै' हुने नै भयो । अर्को कुरा विदेशिनुको अर्थ पनि त्यही थियो नि त । नत्र भने विचारै त्याग्ने, राजनीति छोड्ने र संकट मुक्त हुने बाटो देशमै पनि थियो नि । त्यो खालको षड्यन्त्र र प्रस्तावहरु नआएका पनि  होईनन, तर त्यो बाटो प्यारो लागेन ।

देशमा फर्किए लगत्तै पुन: राजनीतिमा होमिनु भयो, अहिले कुन पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ ?

पुन: राजनीतिमा होमिनुभयो भन्ने शब्दसंग नै मेरो असहमति रह्यो ।  किनकि पुन: होमिनको निम्ति एकपटक छोडेको र पछाडी हटेको हुनुपर्‍यो  नि । मैले जुन दिन सचेत ढंगले विधिवत रुपमा पार्टी सदस्यता ग्रहण गरेँ त्यो दिनदेखि चाहे स्वदेशमा होस् या विदेशमा कहिल्यै आफुलाई पार्टी गतिबिधि र राजनीति देखि टाढा राखेको छैन । अर्थात निरन्तर आफुलाई आन्दोलनमा होमीरहेको छु । देश, काल र परिस्थिति फरक हुनसक्छन जसको कारण देखिने रुप र पक्षमा केही फरक हुनसक्छ । पार्टी र जिम्मेवारीको हैसियतले हाल म नेकपा (क्रान्तिकारी माओवादी) को  नेवा: राज्य अन्तर्गत कृयाशील छु ।  

के नेपाल जस्तो देशमा अझै पनि कम्यूनिष्ट आन्दोलनको औचित्य देख्नु हुन्छ ? आधारहरु के कस्ता छन ? 

हो, मैले नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य मात्र होइन त्यसको भविष्य पनि सुनौलो देख्छु । किनकी कम्युनिष्ट आन्दोलनको अन्तिम लक्ष भनेको साम्यवाद स्थापना गर्नु हो । साम्यवाद भनेको वर्गबिहिन र  शोषणदमन रहित सुन्दर समाज हो । नेपालमा अझै पनि कम्युनिष्ट आन्दोलनको औचित्य देखिन्छ या देखिदैन ? भन्ने कुराको निर्क्योल गर्नलाई नेपालमा अझै वर्गहरु अस्तित्वमा छन् कि छैनन् ? वर्ग संघर्ष अपरिहार्य छ वा छैन ? वर्गीय शोषण, दमन र अन्याय अत्याचार छन् कि छैनन् ? भन्ने प्रश्नका  उत्तरहरुले हल गर्छन् । निश्चित रुपमा   नेपालमा धनीवर्ग र गरीबवर्ग छ, मजदुर र मालिक वर्ग छ । सर्वहारा र पुजीपति वर्ग छ, सामन्त र किसानवर्ग छ । उनीहरु बीच निरन्तर वर्गसंघर्ष चलिरहेको छ । ती वर्गहरु मध्ये एउटाले  अर्को वर्ग माथि निरन्तर शोषण, दमन र अन्याय अत्याचार गरिरहेको छ । त्यसकारण ती  वर्गहरुको अन्त्यको निम्ति र  विभेद, शोषण, दमन र अन्याय अत्याचारको अन्त्यको निम्ति नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य र आवश्यकता दुबै छ । र, त्यसका आधारहरु भनेकै वर्गहरु हुनु र वर्गसंघर्ष चलिरहनु, शोषण, दमन, अन्याय र अत्याचार यथावत हुनु हो । 

विश्व पूँजीवादीहरुले आफ्नै औंलाको भरमा घुमाइराखेका छन, नेपालमा क्रान्ति संभव देख्नुहुन्छ ?

नेपालको वर्तमान अवस्था भनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक (नव-औपनिवेशिक) अवस्था हो । अर्थात सामन्तबादको समूल नष्ट भै नसकेको र पूँजीवादको पुरै बिकास भै नसकेको, विदेशी शक्तिले प्रत्यक्ष सामरिक हस्तक्षेप गरेर भौतिक रुपमै आफ्नो कब्जामा लिई घोषित उपनिवेस पनि नबनाएको र राजनीतिक, आर्थिक, सामाजिक रुपमा उसले विभिन्न सन्धि सम्झौता मार्फत नेपाललाई अधिनमा राखेको नेपालको वर्तमान अवस्था हो । हो, यो अवस्थामा विश्व साम्राज्यवादी र भारतीय विस्तारवादी शासकवर्गले नेपाललाई तपाईले भने जस्तै औलाको भरमा घुमाई रहेका छन । नेपाली जनता अहिले देश भित्रको घरेलु प्रतिकृयावादसंग मात्र होईन बिदेशी विस्तारवाद र साम्राज्यवाद संग पनि लड्नु परिरहेको छ । जहासम्म नेपालमा क्रान्तिको सम्भावना देख्ने, नदेख्नेको कुरा हो मैले नेपालमा क्रान्तिको सम्भावना अत्यन्तै प्रवल र निकट देख्छु । किनकी मैले अघिपनि उल्लेख गरेँ कुनैपनि ठाउमा आन्दोलनको, क्रान्तिको आवश्यकता र सम्भावना छ या छैन भन्ने कुरा त्यो ठाउको सामाजिक परिस्थितिमा निर्भर हुन्छ । जहा बर्गहरु हुन्छन त्यहा संघर्ष हुन्छ, जहा वर्ग संघर्स हुन्छ त्यहा क्रान्ति अनिवार्य चीज बन्दछ । जहा जति चर्का र जति भीषण दमन हुन्छ त्यहा त्यही खालको बिस्फोट पनि हुन्छ । जति ठुलो शक्तिले चौतर्फी घेरा हाल्छ, त्यो घेरा तोड्नका निम्ति त्यही खालको शक्तिको उत्पत्ति र बिकास पनि हुन्छ । यस अर्थमा युगौदेखि नेपाल र नेपालीमाथि अत्याचार गरेर आफ्ना प्राण धानिरहेका संसारभरका सबै प्रतिकृयाबादीहरु केवल कागजका बाघ मात्र हुन् । १९४९ म़ा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनु अघिको चीनको अवस्था र नेपालको वर्तमान अवस्थामा खास अन्तर छैन, बरु अझै दर्दनाक थियो चीनको अवस्था । त्यहाको शासक च्याङ्काइसेकले देश र जनतामाथि चरम अत्याचार गरिरहेको थियो एकातिर भने अर्को तिर चीनलाई घोषित उपनिवेस बनाउनका निम्ति जापानी साम्राज्यवादले फौजी आक्रमण नै गरिरहेको अवस्था थियो । त्यो अवस्थामा कमरेड माओको नेतृत्वमा चीनमा क्रान्ति सम्पन्न भएको थियो । त्यसकारण म फेरिपनि दोहोर्याएर भन्न चाहन्छु नेपालमा क्रान्ति सम्भव मात्र होईन एकदम सन्निकट पनि छ ।

बामपन्थी पार्टीहरु छिन्नभिन्न अवस्थामा छ, यो अवस्था आउनमा तपाईं संलग्न पार्टीको कुनै गल्ती देख्नुहुन्छ ?

नेपालमा बामपन्थी र कम्युनिष्ट पार्टी पर्यायवाची शब्द जस्तो भएको छ तर वास्तवमा कम्युनिष्ट र बामपन्थी भन्ने फरक फरक कुराहरु हुन् ।  कुनै पनि संगठन बामपन्थी हुनासाथ त्यो कम्युनिष्ट पार्टी हुदैन र कम्युनिस्ट नै बामपन्थी हुदैन । तपाईले भन्नु भएको कुरा कम्युनिष्ट नामक पार्टीहरुको सवालमा सत्य हो । नेपालका कम्युनिष्ट नामक पार्टीहरु छिन्न भिन्न अवस्थामा नै छन्, अवश्य यसमा सबै पार्टीहरुको केही न केही कमजोरीहरु होलन् । हाम्रो पार्टीको पनि केहि कमजोरीहरु होला तर नेपाल लगायत विश्व कम्युनिष्ट आन्दोलनमा टुटफुट र विभाजनको मुख्य कारण झिना मसिना ब्यवहाँरिक कमी कमजोरी भन्दा पनि सिद्दान्तमा दाँया र बाँया भड्काव र बिचलन नै हो । 

फरक फरक बिचार, सिद्धान्त र समूहमा बिभाजित कम्यूनिष्ट पार्टीहरुको धुर्विकरणको संभावना के छन् ?

एउटै नाम र काममा देखिने बजारिया चीजहरु जतिसुकै संख्या, रुप र रंगमा देखिएपनि अन्तत: ती चीजहरु दुई खालका हुन्छन एउटा सक्कली र अर्को नक्कली । नेपालको कम्युनिष्ट नामधारी अनेक पार्टीहरुको सन्दर्भमा पनि यही कुरा सत्य हो । कम्युनिष्ट नामधारी पार्टीहरु नेपालमा जेजति संख्यामा देखिए पनि सिद्दान्त, विचार र द्रिष्टीकोणको आधारमा अन्तत उनीहरु दुई समूहमा विभाजित हुन्छन । एउटा क्रान्तिकारी कम्युनिष्ट र अर्को प्रतिक्रान्तिकारी कम्युनिष्ट अर्थात एउटा सक्कली र अर्को नक्कली । आन्दोलनको दौरानमा सक्कलीहरु एकातिर र नक्कलीहरु अर्कोतिर एकीकृत र धुर्विकृत हुनु सम्भावना मात्र होईन त्यो त एउटा अनिवार्य नियम र प्रक्रिया नै हो ।

 विदेशमा बस्दा नेपाली राजनीति बारे तपाईंले गरेका गहन अनुभूती बारे केही बताइदिनुहुन्छ कि ? 

कूल नेपाली जनसंख्याको एउटा ठुलो हिस्सा विदेशमा बस्दछ । जनसंख्याको यति बिशाल हिस्सा राजनैतिक चेतना शून्य हुनु भनेको नेपालकै निम्ति दुर्भाग्यको बिषय हो । सायद यही बिषयबोध गरेर होला नेपालका लगभग सबै राजनैतिक पार्टीहरुले विदेशमा आ-आफ्ना राजनैतिक संजालहरु बिस्तार गरिरहेका छन । हाम्रै पार्टी नेकपा (क्रान्तिकारी माओवादी ) ले पनि बिगत देखि नै पहुच भएका सबै देशहरुमा सबै नेपालीहरुलाई राजनैतिक ढंगले सचेत र संगठित गर्नको निम्ति मंच र मोर्चा निर्माण गर्दै पार्टी सदस्यहरुलाई संगठित र प्रशिक्षित गर्नको निम्ति दक्षिण एसिया, पूर्वी एसिया, यूरोप, अमेरिका र ल्याटिन अमेरिकामा राज्य समिति र ती अन्तर्गतका सबै देशहरुमा जिल्ला समिति निर्माण गर्ने नीति बनाएको छ । अवश्य, पार्टीको यही नीति अन्तर्गत नै म जापानको पार्टी गतिविधिमा सक्रिय थिए । जहासम्म मेरो अनुभूतिको कुरा छ, निश्चय नै विदेशमा बसेर पार्टीको काम गर्ने क्रममा मैले केहि शिक्षा र केहि अनुभूति हासिल गर्ने मैले मौका पाएँ । तपाईलाइ म एउटा घटनाको सम्झना दिलाउछु '१९९२ मा जव पेरुको तत्कालिन फुजिमोरी सरकारले कमरेड गोजालोको गिरफ्तारी गरेर वहालाई एउटा फलामे पिजडा भित्र कैद ग-यो । वहाले त्यही फलामे पिजडा भित्रबाट नै पत्रकारहरु मार्फत आम जनसमुदायलाई भन्नु भयो हामीले आफु जहा र जुन परिस्थितिमा छौ त्यही बाट क्रान्तिपर्तिको आफ्नो कार्यभार पुरा गर्नु पर्दछ । तपाई जुन परिस्थितिमा हुनुहुन्छ त्यही ठाउबाट त्यहीनुसार क्रान्तिको कार्यमा लाग्नुस् । फासिस्ट फुजिमोरीले मलाई दिएको यो फलामे पिंजडा पनि मेरो निम्ति एउटा क्रान्तिको ट्रेन्च हो, मैले यही बाट क्रान्तिको निम्ति आवस्यक कर्तव्य पुरा गर्ने प्रण गर्दछु ।' त्यसरी नै क्रान्तिकारीको कुनै जाति, धर्म नभए जस्तै उसको भूगोल पनि हुदैन । क्रान्तिकारीको निम्ति जुनासुकै समय आफु जहा रहेता पनि त्यो समय त्यही नै वर्गसंघर्षको मैदान हो । मैले सिकेको शिक्षा भनेको यहि हो । मैले गरेको अनुभूति चाहि के हो भन्दाखेरि पार्टी केन्द्र देखि भौतिक हिसाबले अत्यन्तै टाढा र विदेशमा हुनुको बिबिध प्रतिकूलताको बाबजुद पनि उच्च प्रकारको ईच्छाशक्ति भएको खण्डमा आफुलाई वैचारिक हिसावले धारिलो बनाउन र पार्टी ,क्रान्तिलाई ,योगदान दिन राम्रै ढंगले सकिदो रहेछ ।

माओवादी पार्टी एकिकरण बारेका बजारहल्ला तपाईंको धारणा ?

पार्टी एकता ज्यादै राम्रो र मिठो कुरा हो र यो  क्रान्तिको आवस्यकता र चाहना पनि हो । फेरि यो ज्यादै जटिल र संवेदनशील बिषय पनि हो । किन भन्नु हुन्छ भने कम्युनिष्ट पार्टीमा विचार सबैभन्दा ठुलो कुरा हो । विचार मिल्नेहरु बीच एकता हुनु र नमिल्नेहरु बीच फुट हुनु अस्वभाविक होईन ।  मलाई लाग्छ; अहिले बजारमा क्रान्तिकारी माओवादी र एमाओवादी बीच एकताको जुन हल्ला चलिरहेको छ त्यो बजारिया हल्ला मात्र हो । किनकि क्रान्तिकारी माओवादी र एमाओवादी बीच विचारका ठुल्ठुला खाडल हरु छन । यी खाडलहरुलाई नपुरिकन गरिने एकताले भविष्यमा झन् ठुलो दर्दनाक फुटलाई निम्त्याउछ । एकता दुई प्रकारको हुन्छ, एउटा क्रान्तिकारी  र अर्को अवसरवादी । क्रान्तिको निम्ति गरिने एकता क्रान्तिकारी एकता र केहि व्यक्तिहरुको व्यक्तिगत ईच्छा चाहना र आवस्यकताको पूरा गर्नको निम्ति गरिने एकता अवसरवादी एकता हो । 

कार्यक्रम, कार्यदिशा, कार्यशैली, कार्यनीति र रणनीति कुनैपनि सवालमा यी दुई पार्टीहरु बीच समान धारणा छैनन् । यो अवस्थामा कुनै कारणबश एकता भै हालेमा त्यो क्रान्तिकारी होईन अवसरवादी एकता हुनेछ र त्यो भनेको झन ठुलो दुर्घटना हो । त्यसकारण बजारमा हल्ला चले जस्तो यी दुई पार्टीहरु बीच सोलोडोलो पार्टी एकताको सम्भावना छैन । जहासम्म धुर्विकरणको कुरा हो त्यो हुनपनि सक्छ । किनभने पार्टी एकता र धुर्विकरण फरक फरक कुरा हुन् । पार्टी एकता पार्टीहरुका बीच हुन्छ भने धुर्विकरण पार्टी र व्यक्ति व्यक्ति बीच पनि हुनसक्छ । तसर्थ विभिन्न्न  पार्टीका क्रान्तिकारी र अवसरवादी व्यक्ति र समूह बीच चल्ने एकीकृत र धुर्विकृतको प्रक्रिया संगै क्रान्तिकारी माओवादीको आधिकारिक राजनैतिक लाईनमा सहमत हुनसक्ने तर कतिपय कारणले एमाओवादी नेता कार्यकर्ता बनेकाहरु क्रान्तिकारी माओवादीमा धुर्विकृत हुने र एमाओवादीको आधिकारिक राजनैतिक लाईनमा सहमत हुने तर भवितव्यबश क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता बनिरहेकाहरु एमाओवादीमा प्रवेश गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिदैन । 

४६ को जनआन्दोलन, जनयुद्ध, १९ दिने आन्दोलन, मधेस आन्दोलन आदिवासी जनजातीहरुको आन्दोलनका उपलब्धी बारे ।

तपाईले उठाउनु भएका यी पाँच बिषयका प्रश्नहरु ज्यादै महत्वपूर्ण छन् । यी उपल्व्धीहरुको बारेमा सरलीकृत ढंगले स-बिस्तार व्याख्या विश्लेषण यो छोटो अन्तरवार्तामा सम्भव छैन । सारांशमा भन्नु पर्दा ०४६ सालको जनआन्दोलनले तत्कालिन पंचायती कालरात्रिको अन्त्य गर्‍यो । निरङ्कुश राजतन्त्रको केहि अधिकारको कटौती गरेर त्यसलाई हेर्दा संबैधानिक जस्तो बनायो । विविध दलहरु दर्ता गरेर दलीय प्रतिस्पर्धा गरे झैँ गर्ने बातावरण अर्थात बहुदलीय अभ्यासको नाटक मन्चन को निम्ति पर्दा उघारियो । नेपाल र नेपालिलाई नयाँ जनवाद, समाजवाद हुदै साम्यवाद सम्म पुग्याउने उद्देश्य राखेर तत्कालिन माओवादी पार्टीले धर्तीलाई कम्पायमान गराउदै दिर्घकालीन जनयुद्धको घोषणा गर्यो । ०५२ देखि ०६२ सम्मको त्यो महान जनयुद्धमा नेपाल आमाका सबैभन्दा असल पन्ध्र हजार छोरा छोरीहरुले बलिदान गरे । गणतन्त्र, धर्म निरपेक्षता र संघियताको जग त जनयुद्धले नै हाल्यो तर त्यो निक्कै ठुलो क्षतिमा भएको सामान्य उपल्व्धी थियो । साम्यवादको घोषित लक्ष प्राप्ति भन्दा अघि कुनैपनि हालतमा उठाईएका बन्दुक बिसाईने छैन सहितका सात प्रतिबद्दतालाई कुल्चेर तत्कालिन नेतृत्वले हतियार बिसाउने कासन ग-यो । यसरी प्रतिक्रियावादी हरुको डिजाईनमा गद्दारहरुले जनयुद्धको जवरजस्त ज्वारभाटा लाई शिंहदरवारको कोठामा थुनेर आत्मारती लिने प्रयास गरे । जनयुद्धको जगमा भएको १९ दिने जनान्दोलनले दश बर्षको महान जनयुद्धले जन्माएको ती चीजहरु जस्तो गणतन्त्र, धर्म निरपेक्षता र संघियताको मुद्दालाई काखी च्याप्यो र त्यसलाई जनअनुमोदन ग-यो । जनयुद्धको दुखद अवतरण संगै भएको मधेश आन्दोलनले मधेसी जनतालाई खासै अधिकार सम्पन्न गर्न नसकेपनि उनीहरुलाई आफ्नो हकअधिकारको निम्ति राम्रै संग घच्घच्यायो । त्यही आन्दोलनको डोरीले मधेसी जनता र नेताहरुलाई भावानात्मक र संगठनात्मक रुपमा एकठाउमा वाधेर राख्ने पनि गर्‍यो र फलस्वरूप उनीहरु पहिलो संबिधानसभाको निर्वाचनमा मुलुकमा चौथो शक्तिको रुपमा पनि उडाए । तर बिडम्बना शासक हरुको गुलियो कुरामा भुल्दै जव आन्दोलन तुहुयायर नेताहरु शिहदरवार छिरे तव त्यो आन्दोलनको डोरी चुद्यो उनीहरु विखण्डित भए । 'फुटाउ र राज गर' भन्ने नीतिमा सफल भैसके पश्चात साशकहरुले बिगतमा मधेश संग गरेका सम्झौताका कागजहरुलाई रद्दीको टोकरीमा फ्याकिदिए । पछिल्लो मधेश आन्दोलनको मुख्य कडी र कारण त्यही थियो । आदिवासी जनजाति आन्दोलनको मुख्य मुद्दा भनेको पहिचान सहितको संघियता र संघियता सहितको संबिधान थियो । आन्दोलन सशक्त हुदाहुदैपनि उपलब्धी बिहिन भयो । शासकहरुले न त आदिवासी जनजातिको भावना र चाहनानुसारको पहिचान दियो न त संघियता नै । पहिचानलाई पुरै लत्यायो संघियता फोकट नाम मात्रैको दियो । यसको मुख्य दुईवटा कारणहरु छन् । पहिलो, आदिवासी जनजातिहरुमा भएको बिभाजन र अर्को आन्दोलनमा सुस्पष्ट दृष्टीकोणको अभाव । आन्दोलनको क्रममा आदिवासी जनजाति आन्दोलन दुई भागमा विभाजित भयो, पदमरत्न तुलाधर नेतृत्वको आन्दोलन समिति र नगेन्द्र कुमाल नेतृत्वको जनजाति महासंघ । यी दुई पंचायतकालमा विधार्थी हकहितको पक्षपोषण गर्ने संगठन र त्यो संगठनले जे जे गर्छ त्यसको बिरोध गर्दै विधर्थी हकहित कै मुकुण्डो लगाएर पंचायती शासकलाई सहयोग गर्ने मण्डले विधार्थी संगठन जस्तै भए । पदमरत्नको समितिले आन्दोलनको घोषणा गर्ने, त्यही जनजाति आन्दोलन कै नाममा नगेन्द्र कुमालको समितिले पदमरत्नको आन्दोलनलाई काउन्टर गर्दै अर्को आन्दोलनको नौटंकी गर्ने । पंचायतकालमा जस्तै गौरवपूर्ण ईतिहास बोकेको जनजाति महासंघ नगेन्द्र कुमालको नेतृत्वमा जनजाति हकअधिकार माथि गद्दारी गर्दै तत्कालिन कांग्रेसी सरकारको सरकारी जनजाति संगठनमा दर्ज हुन गयो । अर्को कुरा आदिवासी जनजाति आन्दोलनको प्रष्ट दृष्‍टीकोण भएन जसको कारण आन्दोलन उपलव्धीमूलक भएन । मुख्य कुरा राज्यसत्ता हो, त्यसलाई प्राप्त गर्ने माध्यम भनेको राजनीति हो । त्यसकारण आदिवासी आन्दोलनको मुख्य निशाना राज्यसत्ता हुनु पर्ने थियो, बिडम्बना त्यो कह्ल्यै हुनसकेन । आदिवासी जनजाति जस्तै मधेसीहरु पनि राज्यद्वारा उत्तिकै उत्पीडनमा परेका छन । तर पनि उनीहरु आन्दोलनको सफलताको कसीमा आदिवासी जनजातिहरु भन्दा केहि अगाडी देखिन्छन । यसको कारण हो राजनीति र राज्यसत्ता । भन्नुको मतलव मधेसीहरुले राज्यसत्ता र त्यसमा पुग्ने माध्यम राजनीतिलाई सधै केन्द्रमा राखेर गतिबिधि गर्छन । जस्तै, राजनैतिक पार्टी गठन, राजनीतिक नारा र सोहीनुसारको उनीहरुको कार्यक्रम र क्रियाकलाप । तर आदिवासी जनजातिमा संगठित ढंगले यो सोच कहिल्यै जागेन । आदिवासी जनजातिहरु भाषा, धर्म, संस्कार, सस्कृति र पहिचानको कुरा गर्छन तर त्यो कहाबाट आउछ त्यता तिर सोच्दैनन । उनीहरु ती चीजहरु भाषा, धर्म र सस्कार सस्कृति र पहिचानका कुराहरु केवल कसैसंग मागको रुपमा राख्न चाहन्छन तर त्यो माग सम्बोधन गर्ने र त्यसलाई कार्यान्वन गर्ने ठाउँ थलोमा आफै जानुपर्छ भन्ने कुरा कहिल्यै सोच्दैनन । यो भनेको दास मनोबृति हो , यहि दास मनोबृति कै कारण आदिवासी जनजाति आन्दोलन ओझेलमा परेको छ ।