हाजिरी नपुगेपछि १४५ विद्यार्थी एसएलसी दिनबाट बञ्चित

चैत्र १६, पाल्पा: चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसएलसी परीक्षामा पाल्पा जिल्लाबाट १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। 

जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार बीचमा विद्यालय छाड्ने, कम उमेर भएका र वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्। 

विद्यार्थी स्वयम् र विद्यालयको लापर्बाहीका कारण १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपरेको अभिभावकको गुनासो रहेको छ । 

परीक्षामा पाल्पा जिल्लाबाट ६ हजार ८४६ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ। नियमिततर्फ पाँच हजार ३२९ र एक्जेम्टेडतर्फ एक हजार ५१७ जना विद्यार्थी रहेका छन्। 

पाल्पा जिल्लाका २४ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा दमकडा उच्च माविको परीक्षा केन्द्रमा सबैभन्दा बढी ४७० परिक्षार्थी र सबैभन्दा कम किसान उच्च मावि झडेवा परिक्षा केन्द्रमा १५६ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाका लेखा अधिकृत दिवाकर अर्यालले जानकारी दिए। रासस