बैंकको सिस्टम ह्याक गरेर केन्द्रीय बैंकबाट ९ अर्व रुपैयाँ चोरी

४ चैत, काठमाडौं । बंगलादेशको केन्द्रीय बैंकबाट ८१ मिलियन डलर (करिव ९ अर्व नेपाली रुपैयाँ) चोरी भएको छ ।

गत फेब्रुअरी ४ र ५ को बीचमा बंगलादेशको केन्द्रीय बैंकको अमरिकाको फेडेरल रिजर्भ बैंकमा रहेको खाताबाट ८१ मिलियन डलर बिद्युतीय माध्यमबाट चोरी गरि फिलिपिन्स पठाइएको थियो ।

बंगलादेशी बैंकको सिस्टम हृयाक गरेर अमेरिकामा रहेको बैंकको खातासम्बन्धि गोप्य जानकारी लिइ हृयाकरहरुले बैंक लुट्न सफल भएका थिए ।

उनीहरुले ३ दर्जन ट्रान्सफर रिक्वेस्ट पठाएका थिए जसमा ८१ मिलियन फिलिपिन्स र २० मिलियन श्रीलंका पठाउन भनिएको थियो । हृयाकरहरुले श्रीलंका पठाउन अनुरोध गरिएको २० मिलियन डलर ट्रन्सफल गरिएन । श्रीलंकाको एक फाउण्डेशनलाई पठाउन भनिएकोमा फाउण्डेसनको स्पेलिङ गलत पाइएपछि केन्द्रीय बैंकले आफु लुटिएको पत्तो पाएको थियो ।

त्यसपछि तुरुन्तै प्रहरीमा मुद्धा दायर गरेको बैंकले अहिलेसम्म हृयाकर पत्ता लगाउन सकेको छैन । बैंकले प्रिन्टर र सफ्टवेरको खराबीका कारण यति ठूलो परिमाणको क्षति पुगेको बताएको छ । अहिले बैंकले त्यस ट्रन्जेक्सनबाट गएको पैसा संसारभरका बैंकलाई रोक्का गर्न आग्रह गरेको छ ।

बंगलादेशको बैंकले फेव्रुअरी ५ मै पत्तो पाएपनि अमेरकामा शनिबार र आइतबार बैंक बन्द हुने भएकाले सोमबारमात्रै जानकारी मिलेको थियो ।

उक्त रकम फिलिपिन्समा रहेका चिनियाँ मूलका व्यापारी विलियम सोगोको खाता हुँदै त्यहाँबाट फिलिपिन्समा रहेका विभिन्न क्यासिनोहरुमा ट्रान्सफर गरिएको थियो ।तर व्यापारी सोगोले भने आफ्नो कीर्ते हस्ताक्षर गरेर क्यासिनोमा रकमान्तर गरिएको दावी गरेका छन् ।

यता अमेरिकी बैंकले भने आफ्नो सिस्टममा कुनै गडबढी नभएको प्रष्ट पारेको छ भने सुरक्षा बिज्ञहरुले भने बंगलादेशी बैंकको सुरक्षा अवस्था कमजोर रहेको बताएका छन् ।

ठूलो मात्रामा रकम चोरी भएपछि बैंगलादेशी केन्द्रीय बैंकका गभर्नर अतिउल रहमान र दुईजना डेपुटी गर्भनरले पदबाट राजीनामा दिएका छन् ।
- अनलाइनखबर