पोर्तुगलमा परदेशीको भव्य प्रदर्शन, फ्लिम अत्यन्तै संदेशमूलक र मन छोएको प्रतिक्रिया

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा आइतबार नेपाली कथानक चलचित्र परदेशीको भव्य प्रदर्शन भएको छ । हलमा उपस्थित सयौं दर्शकहरुले फ्लिम हेरिसकेपछि अत्यन्तै संदेशमूलक रहेको र उनीहरुको मन छोएको प्रतिक्रिया दिएका छन् । 

बाध्यता, विवशता र परिबन्दले लाखौं नेपाली युवाहरु विदेश जाने गर्दछन् । विदेशमा एकाधबाहेक अधिकांश परदेशीहरुले अनेकन हण्डर, ठक्कर र समस्याहरु झेल्दछन् । उनीहरुको सपना यतिसम्म चकनाचुर हुन्छ कि कयौले ज्यान गुमाउछन्, आत्महत्या गर्छन् र कत्तिको परिवारमा दरार पैदा हुन्छ । 

प्रवासमा रहेका सयौका श्रीमतीहरु सधैका लागि सम्बन्ध टुङ्ग्याउदै अरुसँग विवाह गरी भागेको कथासमेत चलचित्रमा कलात्मक तवरले प्रस्तुत छ । नेपालमै बसेर केही गर्ने सोच कसको हुँदैन र ? तर देशका नेता भनाउदाहरु असल हुन नसक्दा यस्ता सिर्जनशील र देशका लागि अत्यावश्यक युवाहरु बाध्य भएर विदेशिनुपर्ने कुरालाई सबैको मन कटक्क पार्ने किसिमले चलचित्रमा जस्ताकोतस्तै उतारिएको छ ।

राजेश वंशल र नारायण रायमाझीद्वारा निर्मित परदेशीमा प्रशान्त तामाङ, रजनी केसी, शेरबहादुर गुरुङ र तारा शर्मालगायतले अभिनय गरेका छन् । चलचित्र निर्देशक नारायण रायमाझी, निर्माता वंशल र कलाकार आरसी कोइरालासमेत कार्यक्रममा आउने प्रचार प्रसार गरिएको तर कारणवश उनीहरु आइपुग्न नसकेकोमा छिट्टै उनीहरुलाई पोर्तुगलमा ल्याउने प्रयास गर्ने फ्लिम प्रदर्शन व्यवस्थापन समूहले जानकारी दिएको छ ।