नेपालको बाहुनवाद : डा. कृष्ण भट्टचन

मेरा बाहुन साथी, गुरु, मित्र, शिष्य, शुभचिन्तक, सहयोगी आदि सबै छन् । मेरो पेसागत, प्राज्ञिक, परामर्श सेवा, जन–वकालतलगायत कार्यमा मलाई सहयोग गर्ने बाहुन पनि थिए र छन्, अरू पनि थिए र छन् । नेपालका बाहुन, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत र विदेशी कसैको पनि विचारसँग सहमत भएजति सहमत र असहमतजतिमा असहमत हुन सहमत छु तर असहमति विचारसँग हो, व्यक्तिसँग होइन । मेरा विचारसँग सहमत हुने बाहुन पनि छन् र असहमत हुने बाहुन पनि छन् । अरू पनि त्यस्तै छन् । सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु । सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ ।

आदिवासी जनजातिको दृष्टिमा बाहुन

आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ । तर, बाहुनको नकारात्मक प्रवृत्ति भनेको नीति निर्णय गर्न शक्ति र पदको डाडुपन्यु समाउनै पर्ने, कन्जुस, लोभी, जाली, कुखुरे छाती भएको, फटाहा, ठग, सयपत्री अर्थात् जसलाई जे भन्नु पर्छ मिलाएर भन्ने, आफ्ना लागि जे पनि गर्न सक्ने, महिलालाई दबाउने, अरूसँग लड्न डराउने र परेको बखत भाग्ने हो । कतिपयले तीनफुके पनि भन्छन् बाहुनलाई । पहिलोपटक शंख फुक्छन् अर्थात् पुरेत हुन्छन्, दोस्रोपटक ढुंग्रो फुक्छन् अर्थात् भान्से हुन्छन् र अन्तमा कान फुक्छन् अर्थात् झगडा गराइदिन्छन् भन्ने धेरैले विश्वास गर्छन् ।

बाहुन वास्तवमा जे कुरामा पनि अति नै लचकदार हुन्छन् । गाई दान दिन लगाउँदा गाई छैन भन्यो भने सुनको टुक्रा भए पनि हुन्छ भन्छन् । सुन नभए रुपैयाँ पैसा, सो नभए पैसाको ढ्याक, ढ्याक नभए तामाको एक पैसा र त्यो पनि नभए कुशबाटै काम फत्ते गरिदिन्छन् । बाहुनको विगतदेखिको मूल प्रवृत्ति भनेको आदिवासी जनजातिको भूमि ठग्ने हो । लायोनेल क्याप्लानले ‘ल्यान्ड एन्ड सोसियल चेन्ज इन् नेपाल’मा लिम्बू–बाहुनबीच भएको फाटोको ‘बाहुनले गर्ने जालका सम्बन्धमा लिम्बूले पाठ गर्ने गरेको छन्द’ (पृष्ठ ५८–५९) यस्तो छ –

‘टिप अफ द सुगर–केन, रुट अफ द र्‍याडिस (उखुको टुप्पा, मुलाको जरा),
किपिङ द सभ्र्यान्ट इज द र्‍युइन अफ द हाउस (नोकर राख्नु भनेको घरको सर्वनाश हो),
लेफ्ट इन् द बार्न हि ड्रिङ्क्स द क्रिम (खलोमा छाडे उसले तर खाइदिन्छ),
लेफ्ट इन द होम, हि टेक्स योर स्पाउस (घरमा छाडे, स्वास्नी भगाइदिन्छ) ।’

उक्त श्लोकमा बाहुन र लिम्बू आदिवासीको प्रवृत्तिलाई राम्रैसँग उजागर गरिएको छ । उखुको टुप्पा भनेर बाहुन र मूलाको जरा भनेर लिम्बूलाई इंगित गरिएको छ । उखुको टुप्पा जहाँ लगेर सारे पनि सर्छ, उखुबारीमा आगो लगाए अर्को वर्ष झनै झांगिएझैँ बाहुन पनि नेपालको जुन ठाउँमा पनि सरेको छ । उखुको बोट उज्यालो ताक्दै माथिमाथि गएजस्तै बाहुन पनि सधँै माथिल्लो ओहदा र पद ताक्दै माथि चढ्छ । उखुको स्वाद गुलियो भएजस्तै बाहुनको कुरा पनि गुलियो हुन्छ । लिम्बूलगायत आदिवासी जनजाति भने मूलाजस्तै एकै ठाउँमा गाडिएर बस्छन् । वल्लो ठाउँबाट उखलेर पल्लो ठाउँमै सारे पनि मर्छ । त्यसैले लिम्बू मूला अन्त पाइँदैन । त्यस्तै गरी राउटे मूला अन्त पाइँदैन । अर्को कुरा, बाहुनलाई माया गरेर घरमा राख्दा आदिवासी जनजातिका घर र खेत दुवै सर्वनाश हुने यथार्थलाई औंल्याइएको छ । क्याप्लानको भनाइअनुसार (पृष्ठ ५९), बाहुनलाई विश्वास गरेर जग्गा–जमिन हेर्ने जिम्मा दिँदा ‘रैकरमा परिणत गरेर चोर्ने कृतघ्न नोकर’का रूपमा प्रस्तुत हुन्छ । त्यसैले, सधँै तातिरहने लिम्बुवान हुन् वा पहिले नतातिएका थारुवान हुन् आजकाल झन् बढी तातिनु स्वाभाविक देखिन्छ ।

विभिन्न आदिवासी जनजातिको जग्गा–जमिन बाहुनले कसरी खाए भन्नेबारे स्थानीय आदिवासी धेरै कथा सुनाउने गर्छन् । ती सबै कथाले देखाउन खोज्ने गाँठी कुरा बाहुनले आदिवासी जनजातिलाई कसरी ठग्छ र थाङ्नामा सुताउँछ भन्ने हो ।

लिम्बूको कथा यस्तो छ, बाहुनको परिवार लिम्बू गाउँमा आइपुग्छ । लिम्बू सुब्बासँग बिन्ती बिसाएर फर्सीको एउटा बोट रोपेर त्यसले ओगटेको जग्गामा खेती गरी खान अनुमति माग्छ । किपटिया लिम्बूका लागि त्यो ठूलो कुरा नभएकाले ‘गरी खा’ भन्छ । बाहुनले फर्सीको बोटको लहरा चारैतिर किल्ला गाडेर तान्दै ठूलो क्षेत्र ओगट्ने बनाउँछ । कोसेली दिन जाँदा फर्सी खेती हेर्न बोलाउँछ । सोचेको भन्दा धेरै जमिन ओगटेको थाहा पाए पनि ‘थुकेको थुक निल्न नसक्ने’ भनेजस्तै बोलेअनुसार जग्गा उपभोग गर्न दिन्छ ।

केही तामाङले सुनाएको कथा यस्तो छ, एक बाहुन दम्पतीले पछि लिन आउँछौँ भन्दै कुखुराका अन्डा तामाङको घरमा राखेर जान्छन् । समयमा लिन नआएपछि अन्डा बिग्रन सक्ने खतरा भएकाले उक्त अन्डाको चल्ला काढ्छ । कुखुरा बेचेर पैसा कमाउँछ । त्यो पैसाबाट बाख्रा पाल्छ । पछि भैंसी पनि पाल्छ । वर्षौंपछि बाहुन दम्पती नासो फिर्ता माग्न आउँछन् । ती तामाङले यी सबै भैंसी, बाख्रा र कुखुरा त्यही अन्डाको हो भनेपछि ती सबै लिएर जान्छन् । तामाङ हेरेको हेर्‍यै ।

धिमाल, गन्गाई, कोचे, मेचेलगायतले मलाई सुनाएको कथा भने यस्तो छ, नेपाली कांग्रेसले २००७ सालको राजनीतिक आन्दोलनमा पूर्वी पहाडमा नारद मुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा सशस्त्र कारबाही हुँदा बाहुन–क्षेत्री भागेर झापा र मोरङका जंगलमा बस्न पुगेछन् । छिमेकी नयाँ देखेपछि वरिपरिका आदिवासी भेट्न गएछन् । आएकालाई बाहुन–बाहुनीले दही खान दिएछन् र पैसा लिएनछन् । जाँड खाइरहेको आदिवासीलाई दही नौलो र मीठो लागेछ । अर्कोपल्ट माग्दा पैसा लाग्ने बताएछन् । पैसा छैन भन्दा कागजमा लेखेर पछि तिरे हुन्छ भनेछन् । कागजमा एकको पछि एउटा शून्य मात्र लेखेको छ भनेपछि एउटा किन पाँचवटा शून्य थप न भनेछन् र सही गरेछन् । पछि भएको जमिन सबै त्यही कागजका कारण गुमाएछन् ।

झापाका सन्थालको कथा यस्तैयस्तै छ । उसवेला सन्थालसँग थुप्रै जग्गा थियो । ती जग्गामा बाहुनले आँखा गाडेछन् । बाहुनले सन्थालसँग मित्रता गाँसेछन् र पछि थाहा नपाउने गरी उनको घरभित्र भरुवा बन्दुक लगेर राखिदिएछन् । अर्को दिन गएर ‘तंैलै त बन्दुक लुकाएको रहिछस्, अब सरकारले कारबाही गर्छ’ भनेछन् । सन्थालमा सरकारसँग जोरी खोज्नुभन्दा अन्त कतै सुरक्षित स्थानमा जाने प्रचलन रहेछ । उनीहरू पनि अन्त गएछन् । जग्गा बाहुनले आफ्नो बनाएछन् ।

झापाकी सवीना राजवंशी एउटा सत्य घटनामा आधारित डकुमेन्ट्री बनाउन लाग्नुभएको खबर आएको थियो । सो घटनाअनुसार, एक राजवंशीको जग्गा धेरै थियो । घरमा बाहुन नोकर थियो । त्यो बाहुनले मालिक मरेपछि उसलाई गाडेको ठाउँ खोतलेर औंठा छाप लगाएर सबै जग्गा आफ्नो नाममा गरेछ । अहिले मालिकको छोरा त्यही बाहुनको घरमा नोकर छ ।

धनगढीमा थारूले सुनाएको कथा यस्तो छ, बाहुनले पहिले थारूसँग मीत लगाउँछ । मीत लगाएपछि बाहुनले मीतसँग ‘म तिम्रो मीत तर मेरो जग्गा छैन, सानो टुक्रा जग्गा भए पनि देऊ’ भन्छ । सोझो थारूले एक टुक्रा जग्गा बाहुनलाई दिन्छ । तर, पछि थारूको सबै जग्गा बाहुनले हडपेछ । थारू जग्गाविहीन हुन्छ ।

झापाका केही बौद्धिक साथीले सुनाएअनुसार झापाका आदिवासीको जग्गाजमिन ओली, मैनाली, सिटौला, प्रसार्इंलगायत बाहुनले विभिन्न हतकण्डा प्रयोग गरी आफ्नो कब्जामा लिएको नालिबेली एकजना बाहुनले नै पुस्तक छापेर सार्वजनिक गरेछ । उक्त पुस्तकमा सबै बाहुनको पोल खोल्दा आफ्नो भने खोलेनछ । मैले सो पुस्तक फेला पार्न खोजेको थिएँ तर सबैप्रति बाहुनले नै च्यातेकाले उपलब्ध नभएको जानकारी पाएँ ।

बाहुनकै दृष्टिमा बाहुन

बाहुनका बारेमा बाहुनले नै विभिन्न सन्दर्भमा उजागर गरेका यथार्थले बाहुनको प्रवृत्तिलाई बुझ्न मद्दत गर्छ । बाहुन विद्वान् डा. खगेन्द्रनाथ शर्मालगायतले सन् १९९४ मा लेखेको ‘ए मोडेस्ट स्टडी अफ द करेन्ट सोसियो–इकोनोमिक सिच्युएसन अफ द लोएस्ट स्टाटस कास्ट एन्ड ट्राइबल कम्युनिटिज इन् नेपाल’ नामको प्रतिवेदनमा यस्तो दुर्जनको उदाहरण दिएका छन् (पृष्ठ ४८)– ‘धरमपुर निवासी एकजना सतार जमिनदारको यति धेरै जमिन थियो कि उनले जोत्नका लागि १८ हल गोरु पालेका थिए । तर, उनको जग्गा पहाडी मूलका उच्च जातका मानिसले न्यायोचित (नाम मात्रको मूल्यमा खरिद) वा झेली (ठगी) गरेर क्रमश: लिए । वृद्ध जमिनदार र उनका छोराको मृत्युपछि नातिलाई ठगी गरी बाँकी २८ बिघा जमिन पनि हात पारे… । तर, वाचा गरेअनुसार बैंक खाता खोलिएन र रकम पनि कहिल्यै दिइएन । सतारले झापाको अदालतमा मुद्दा हाले तर हारे । उनले इलामको पुनरावेदन अदालतमा पुनरावेदन गरे, तर अन्तिम क्षणमा उनले गम्भीर परिणाम भोग्नुपर्ने धम्की पाए । डरले उनी अदालत गएनन् । उनी आजकल भूमिहीन छन् र उनीसँग नेपालको नागरिकतासमेत छैन ।’

नगरकोटमा ७ जुन १९९८ मा हेल्भेटासको ‘कल्चर एज अ भेक्टर एन्ड अ सेक्टर’ विषयमा विज्ञका रूपमा सत्र सञ्चालन गर्दा सहभागी कर्मचारीमध्ये १९ बाहुन कर्मचारीको समूहगत छलफलपछि बाहुनका नराम्रो कुरा के–के हुन् भन्ने प्रश्नमा ‘हामी बाहुन लोभी–पापी छौँ’ भनेका थिए ।

डा. तारानाथ शर्माले ‘पाताल प्रवास’को परिचयमा ‘मेरो नाउँ तारानाथ शर्मा हो’ भनेपछि प्रा. जोन टी हिच्ककले उनलाई जवाफमा भनेको कुरा यसरी उद्धृत छ (पृष्ठ १५) ‘उनी झसंग भए र मलाई अकस्मात देखापरेको गोमन सर्पलाई जस्तै हेरेर उनले भने, ‘शर्मा भनेको बाहुन होइन र ? बाहुनले यस मुलुकका स्थायी बासिन्दालाई चुस्नसम्म चुसेका, दबाउनसम्म दबाएका र हेप्नसम्म हेपेका छन्, होइन त ?’ शर्माको मनमा हिच्ककले बाहुनलाई सर्प देखेको महसुस गरे पनि दुर्जनका रूपमा चित्रण गरेको बुझिन्छ । उनको भनाइले चाणक्य नीतिको दुइटा उक्तिको सम्झना गराउँछ । तेस्रो अध्यायको चौथो श्लोक, ‘दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जन: । सर्पो दंशति कालेन दुर्जनस्तु पदे पदे ।’ अर्थात् ‘दुर्जन र सर्पमा सर्प राम्रो हो, दुर्जन होइन । सर्पले काल आए मात्र टोक्छ तर दुर्जनले पाइला–पाइलामा हानि पुर्‍याउँछ ।’ सातौँ अध्यायको आठौँ श्लोक, ‘तक्षकस्य विषं दन्ते मक्षिकायास्त मस्तके । वृश्चिकस्य विषं पुच्छे सर्वांगे दुर्जने विषम् ।’ अर्थात् ‘सर्पको दाँतमा विष हुन्छ, माखाको शिरमा विष हुन्छ । बिच्छीको पुच्छरमा विष हुन्छ, दुर्जनको सबै अंगमा विष भरिएको हुन्छ ।’

साहित्यकार हर्षनाथ भट्टराईको ‘उन्नयन’ नामक त्रैमासिक पत्रिकाको अंक ३७ मा प्रकाशित ‘अज्ञानी बाहुनवादका विरोधी’ शीर्षकको लेखमा यस्तो उल्लेख छ (पृष्ठ ७), ‘अझ अगाडि जाने हो भने ब्रह्माका सन्तान ब्राह्मण हुन्, आज ती अपहेलित रूपमा बाहुन, काठा, कात्तिके, काट्टे आदि शब्दले उपेक्षित छन् ।’ भट्टराई अगाडि लेख्छन्, ‘नेपालको परिप्रेक्ष्यमा परशुरामदेखि प्रधानमन्त्री रंगनाथ पौडेलसम्म लिए पनि वा परशुरामदेखि बिपीसम्म वा गिरिजासम्म लिए पनि उही बाहुनवाद नै जीवन्त थियो वा त्यही बाहुनवाद नै हो भनेमा अत्युक्ति हुनेछैन…। बाहुनवादको प्रमुख आधार वर्णाश्रम व्यवस्था हो ।’

खगेन्द्र संग्रौलाले ‘आमा र यमदूतहरू’ पुस्तकमा लेखेअनुसार बाहुनले गरुड पुराण सुनाउनुको उद्देश्य परिवारजन बितेका वेला बाँचेका परिवारका सदस्यलाई नुन र अन्य खानेकुरा खान नदिएर शरीर गलाउने, मानसिक रूपमा त्रासको वातावरण सिर्जना गरी सकेसम्म बढी दान पैसा लुट्ने काम गर्ने पुरेतको एक मात्र उद्देश्य हो भनेका छन् । संग्रौला लेख्छन्, ‘काल्पनिक नरकका यातनाकारी यमदूतभन्दा पनि सर्वांग अमानवीकृत र धर्मको नाममा अमानवीकरणको प्रदूषण फैलाउने पेसामा कटिबद्ध भएको पुरोहितलाई मैले हेरेँ । ऊ अझै स्तोत्र जप्दै र लगौंटीको फुर्को हल्लाउँदै नुहाइरहेको थियो, जो आफँै अन्धविश्वास र भ्रमको दयनीय दास हो, ऊ अरूलाई मोक्षका उपदेश सुनाउँदै हिँड्छ । अहिले भने मलाई उसको जनावरीकृत अस्तित्वप्रति अग्घोरै दया जागेर आयो, बरा बिचरा † लम्पट पुरेत बाजे !’ (पृष्ठ १३६) ।

आफ्नो पुस्तक बाहुनवाद (पृष्ठ ३१) मा अरुण बरालले बाहुनको चरित्रबारे लेखेका छन्, ‘बाहुन कुनै एकै ठाउँमा लामो समय टिकेर, संघर्ष गरेर बस्न नसक्ने अस्थिर, भगौडा र घुमन्ते जातिको मानिस हो । बाहुन कास्मिरबाट भाग्यो, भारतमा भएको मुस्लिम आक्रमणबाट भाग्यो । पश्चिम नेपाल खसानमा आएर बसे पनि त्यहाँबाट घुम्दै पूर्वको लिम्बुवान, खम्बुवानसम्म छिर्‍यो, सिक्किमतिर गयो, भुटानतिर गयो, मुग्लान पस्यो । भुटानमा पनि सरकारी दमन सहन नसकेर पहिलोपटक भाग्ने पनि उही थियो । यसरी बाहुनको अहिलेसम्मको इतिहास हेर्दा ऊ भागेको भागेकै छ ।’ बराल थप लेख्छन्, ‘भागी हिँड्ने र घुमन्ते चरित्रका कारण बाहुनसित आफ्नो राष्ट्र पनि छैन । अब संघात्मक शासन भयो भने बाहुनले अन्य जातिको राष्ट्रमा बस्नुपर्ने दु:खद स्थिति छ । यही कारण बाहुनवादीले संघात्मक शासनको विरोध गरेका हुन् । नेपाली बाहुनको विशेषता के छ भने ऊसित न भूमि छ, न राष्ट्रिय संस्कृति छ । बाहुन यतिवेला पनि ‘भारत वर्षे’ भन्दै हिँडिरेको छ । भारतीय वनारसी धोतीलाई नै आफ्नो राष्ट्रियता ठानिरहेको छ । यो सबै भाग्नुको परिणामले गर्दा भएको हो । भाग्नु बाहुनको विशेषता हो । सुविधा खोज्दै असन्तुष्ट बनी डुल्नु उसको दिनचर्या हो ।’