सौता हाले पनि श्रीमानको माया लाग्छ : शान्ता चौधरी

१७ भदौ, काठमाडौं । ‘मलाई यस्तो लाग्छ, मेरो जीवनमा दुःख मात्र लेखेको छ । चार वर्ष सभासद भएर सुखभोग गरेँ भन्ने लाग्दो हो अरुलाई । तर, मेरो कथा-व्यथा कसलाई थाहा छ ? म क-कसलाई सुनाउँदै हिडूँ ?’
पूर्वसभासद शान्ता चौधरीको मन आज अशान्त बनेको छ । जीवनको लामो समय जमिन्दारका घरमा दास भएर बिताएकी उनी आज परिस्थितिको दास बनेकी छिन् ।

एउटी महिलाले जे कुराको कल्पना पनि गर्न चाहँदैनन्, आज उनको जीवनमा घटित भइदिएको छ । श्रीमानले सौता हालेका छन् । तिनै श्रीमानले जसलाई उनी देउताभन्दा असल देख्थिन् ।

‘बरु मरेको भए दुई-चार दिन रोएर मन बुझाइन्थ्यो,’ टाउकोमा सेतो सल बाँधेकी शान्ता घुँडामाथि चिउँडो राख्छिन् र भुईंमा एकटकले हेर्दै भन्छिन्, ‘तर यो त मलाई जीवनभरि चहर्‍याइरहने घाउ जस्तो हुनेभयो ।’

बसुन्धरास्थित डेरामा बसेर शान्ता अनलाइनखबरसँग मनको बह पोखिरहेकी छिन् । छोरी … गह्रुंगा हातले चिया उमाल्दैछिन् । उमाल्दैछिन् चिया कि बेदना ? छोरा धुम्धुम्ती बसेर मोबाइलमा घोरिएका छन् । मोबाइलमा कुनै एप्स हुँदो हो, जसले उनका बाबुको आँखा खोल्न मद्दत गरोस् ?

यही मोबाइलमा १० दिनअघि उनका बाबुको फोन आएको थियो । ‘बाबु, मैले अर्को बिहे गरेँ, आमालाई भन्दे है,’ छोरा झसंग भएका थिए ।

छोराको मुखबाट यस्तो खबर सुन्दा शान्ता छाँगाबाट खसेजस्ती भएकी थिइन् । पत्याउन नचाहेर पनि पत्याउन विवश बनेकी थिइन् ।

‘मेरा श्रीमानले यस्तो गर्नुहोला भन्ने मैले सपनामा पनि चिताएकी थिइनँ,’ शान्ता भन्छिन्, ‘उहाँ त देउताजस्तो असल हुनुहुन्थ्यो । मबाटै कुनै भुलचूक पो भयो कि ?’

विवाहपछिका ती दिन

हातमा किताब च्यापेर नाच्दै स्कुल जाने उमेरमा शान्ताको बिहे भयो । बँधुवा मजदुरका रुपमा एक जमिन्दारको घरमा जीवनका १५ वर्ष खपत गरेकी उनले आफू मिल्दो जीवनसाथी पाएकी थिइन्, जो एक कमैया थिए । उनीहरु वल्लो-पल्लो घरमा काम गर्थे ।

त्यतिबेला यो जोडीसित कुनै सपना थिएन । केही योजना थिएन । जीवनको एक मात्र सोच, लक्ष्य र महत्वाकांक्षा थियो, पेटभरि खानु । यही लक्ष्य पनि बिरलै हासिल हुन्थ्यो ।

जमिनदारले आफ्नो जग्गामा बनाइदिएको सानो झुपडीमा उनीहरुले दाम्पत्य जीवन सुरु गरेका थिए । बँधुवा मुक्त भएपछि त्यो झुप्रो छाडी वनको जग्गामा नयाँ झुप्रो हाले । उनीहरुका लागि त्यो झुप्रो सपनाको महलभन्दा कम थिएन । तर, महल पूर्णतया रित्तो थियो । अन्न गेडो थिएन । न सम्पत्तिका नाममा एक टुक्रो जमीन थियो । मुक्त भएपछि जीवन झन् कठिन भइदियो । शान्ता घर-घर चहार्दै घाँस काट्ने लिपपोत गर्ने जस्ता काम गर्थिन् भने श्रीमान मजदुरीका काम गर्थे ।

‘सुख भनेको के हो मैले कहिल्यै थाहा पाइनँ,’ शान्ता भन्छिन्, ‘दुःख पाउनकै लागि जन्मिएकी हुँ भने लाग्छ मलाई त ।’

बिहे गरेको २ वर्षपछि गर्भ रह्यो । तर, पहिलो बच्चा खेर गयो । तेस्रो वर्षमा छोरो जन्मियो । त्यसको दुई वर्षपछि छोरी जन्मिइन् । सन्तान सुखसँगै पारिवारिक बोझ थपियो । तमाम दुःखहरुका बीच पनि श्रीमान र श्रीमती बीच भने उदाहरणीय मेलमिलाप थियो । उनीहरु बिरलै झगडा गर्थे ।

‘कहिलेकाहीँ हाम्रो ठाकठुक पर्‍यो भने गाउँका मान्छेहरु अचम्म मान्थे,’ उनी भन्छिन्, ‘उहाँले कहिल्यै मसित चर्को स्वरले बोल्नुभएन । अति सोझो हुनुहुन्छ । कहिलेकाहिँ पिउने बानी छ । नत्र नराम्रो स्वभाव केही पाएकी छैन ।’

श्रीमती सभासद, श्रीमान मजदुर

कम्लहरी आन्दोलनमा संलग्न भएपछि शान्ता सभासदसम्म भइन् । श्रीमती सभासद बन्दा पनि श्रीमान मजदुरी काम नै गरिरहेका थिए । तर, मान्छेहरुले खिसिट्यूरी गर्न थाले । ‘सभासदको लोग्ने भएर लेबर काम गर्ने हो ?’ भन्दै धेरैले गिज्याएपछि उनका श्रीमानले विदेश जाने निश्चय गरेका थिए ।

‘तेरो कारणले गर्दा मैले काम पाउन छाडेँ । आज पो तँ सभासद छेस, भोलि पद खुस्केपछि कसरी गुजारा गर्ने ?’ भन्दै श्रीमानले विदेश जाने कुरा गरे पछि शान्ताले पनि नाई भन्न सकिनन् । मासिक १५-२० हजार पैसा कमाउन श्रीमान साउदीतिर लागे । दुई वर्ष साउदी बस्दा कमाएको जति सबै पैसा आफूलाई पठाएको शान्ता बताउँछिन् ।

दुई वर्ष बसेर फर्केका उनी नेपालमा लामो समय टिक्न सकेनन् । फेरि गए । दोस्रोपटकको बसाइमा भने श्रीमानमा केही परिवर्तनको आभास शान्तालाई भएको थियो ।

उनी भन्छिन्, ‘कहिलेकाहीँ फोन रिसिभ नगर्ने र नियमित पैसा नपठाउने गर्न थाल्नुभयो । मैले उहाँको विषयमा बाहिर गाईगाईं गुईगुईं हल्ला पनि सुन्न थालेँ । एकपटक उहाँलाई सोधेँ पनि । तर, त्यस्तो केही पनि होइन भनेर कसम खानुभो । मैले पत्याएँ ।’

पाँच महिनाअघि गत बैशाखमा शान्ताका श्रीमान स्वदेश फर्के । जतिबेला शान्ताको सभासद पद हिँडिसकेको थियो । उनी विद्यालय भर्ना भएर पढ्न थालेकी थिइन् । श्रीमान घरमै बसेर ज्याला मजदुरीको काम गर्न थाले ।

जब केटीलाई घरमा ल्याए

गत साउने संक्रान्तीको दिन श्रीमानले एक अपरिचित कन्यालाई घरमा ल्याए । भर्खरकी केटी । साथी भनेर शान्तासित परिचय गराए । कन्याले मसक्क गर्दै भनिन्, ‘नमस्ते दिदी !’

‘यी बैनी केही दिन हाम्रै घरमा बस्छिन्,’ श्रीमानले घोषणा गरे । शान्ताको मनमा चिसो पस्यो । तर, कन्याका अगाडि केही भनिनन् । राति चाहिँ श्रीमानसित बेस्मरी पड्किइन् । ‘तैंले पनि त साथीहरु ल्याउछेस् नि घरमा, मैले केही भनेको छु ?’ यसो भन्दै श्रीमानले उनलाई चुप लगाइदिए ।

शान्ता भन्छिन्, ‘म त राजनीतिक मान्छे । घरमा लोग्ने मान्छेहरुको आउजाउ भइरहन्थ्यो । कतिपयलाई खाना पनि खुवाइन्थ्यो । उहाँले जस्तो घरमै बस्नेगरी त कसैलाई ल्याएकी थिइँन ।’

उनले भोलिपल्ट कन्यालाई नै सोधिन्, ‘बहिनी तिम्रो घर कहाँ हो ? किन यहाँ आएकी ? मेरो श्रीमानसित के सम्वन्ध हो ? कति दिन बस्ने विचार छ ?’ कन्याले जवाफ दिइन्, ‘घर रोल्पा हो । आइए पढेकी छु । हजुरका श्रीमान मेरा साथी हुनुहुन्छ । घरमा दिदीसित झगडा गरेर हिँडेकी थिएँ, बस्ने ठाउँ नपाएर यहाँ आएकी । केही दिनमै फर्किन्छु ।’

केही दिनमै फर्किने भनेपछि शान्ताले पनि सोचिन्, ठिकै छ नि त । तर, कन्याले फर्किने छाँटकाँट ल्याइनन् । शान्तालाई काठमाडौं आउनु थियो पुष्पलाल राष्ट्रिय पुरस्कार थाप्न । काठमाडौं आउने बेलामा उनले भनिन्, ‘बैनी तिमी अब यहाँ बस्न मिल्दैन । लोग्नेमान्छे मात्रै भएको घरमा के गरी बस्छेऊ ? गाउँ-समाजले के भन्छन् ? कहाँ जाने हो, जाउ । कतै जाने ठाउँ छैन भने बरु मेरो माइतीमा गएर बस ।’

उनले ‘हुन्छ दिदी, म त्यहीँ जान्छु’ भनिन् ।

शान्ता काठमाडौं आइन् । एक हप्ता काठमाडौं बसेर फर्किंदा कन्या घरमै थिइन् । घर पुग्दा शान्तालाई श्रीमानले सौता हाल्यो भनेर सबैतिर हल्ला फैलिइसकेको थियो ।

उनले कन्यालाई भनिन्, ‘बहिनी तिमीले मलाई ठूलो धोका दियौ । मैले बहिनीजस्तो सम्झेर विश्वास गरेँ । घरमा राखेँ । तर, तिमीले मेरो जीवन बर्बाद बनायौ ।’

कन्या घोसेमुन्टो लगाएर बसिरहिन् ।

शान्ताले श्रीमानलाई हात जोडेर सम्झाइन्, ‘हेर्नुस, अझै पनि केही बिग्रेको छैन । यो केटीलाई फर्काइदिनुस । मेरा लागि नभए पनि दुई छोराछोरीका लागि । यो केटीले एक दिन तपाईंलाई छोडेर हिँड्छे । त्यसपछि तपाईंलाई दुख परेको म हेर्न सक्दिँन ।’

श्रीमानले कुरा बुझेजस्तो गरे । त्यही दिन कन्यालाई लिएर घरबाट हिँडे । गाडी चढाएर आफू फर्किए । शान्ताले ढुक्क भएर लामो सास फेरिन् ।

त्यसको केही दिनपछि शान्ता फेरि काठमाडौं आएकी थिइन् । काठमाडौं आएको केही दिनपछि श्रीमानले छोराको मोबाइलमा फोन गरेर भने- ‘बाबु मैले बिहे गरेँ, आमा लाई भन्दे है ।’

स्तब्ध बनेका छोराले बुबालाई सम्झाउने प्रयास गरे, ‘प्लिज बाबा यस्तो नगर्नुस् । त्यो आन्टीलाई घरमा नराख्नुस् । बरु अन्तै लगेर राख्नुस् ।’ बुबाले केही जवाफ दिएनन् ।

शान्ताले पनि फोन गरिन् । ‘मेरा लागि नभए पनि छोराछोरीका लागि यस्तो काम नगर्नुस ।’ तर, जति सम्झाउँदा पनि श्रीमान टसमस भएनन् ।

शान्ता छोरालाई लिएर घर (दाङ) पुगिन् । तर, घरमा उनीहरु दुवै जना थिएनन् । कहाँ छन् भन्ने केही पत्तो नलागेपछि उनले प्रहरी पनि गूहारिन् । प्रहरीले पनि फोन गरेर सम्झाए । तर, केही लागेन । फोन गरेर सम्झाउने क्रम अहिले पनि जारी राखेकी छिन् शान्ताले ।

‘छोरा र छोरीले सोध्छन्, अब हामी कसलाई बाबा भन्नु ? गहभरि आँशू पार्दै शान्ता हस्पकाउँछिन्- ‘म जिउँदो छैन ?’

फेसबुकबाट लभ

श्रीमान दोस्रोपटक साउदीमा गएपछि ती केटीसित सम्पर्क भएको शान्ताले पत्तो पाएकी छिन् । ‘फेसबुकबाट चिनजान भएर लभ परेको रहेछ,’ उनले भनिन्, ‘पहिले एक अक्षर नचिनेको मान्छे विदेश गएपछि अक्षर चिनेर फेसबुक चलाएर आइए पढेकी केटी पट्याउने भनेपछि दिमाग त मान्नुपर्छ !’

शान्ताले समय नदिएको श्रीमानको गुनासो

‘उहाँको एउटा मात्रै गुनासो रहेछ, मैले समय दिइँन भन्ने,’ शान्ता भन्छिन्, ‘हुन पनि राजनीतितिर लागेपछि मैले उहाँसित धेरै समय बिताउनै पाइनँ । तर, राम्रोसित कुरा गरेको भए त हुन्थ्यो नि ।’

उनका श्रीमान पहिलोपटक साउदीबाट फर्किँदा काठमाडौंमा कम्लहरी आन्दोलन चर्केको थियो । कम्लहरीको आन्दोलनमा शान्ता पहिल्यैदेखि सक्रिय थिइन् । उनी सम्झिन्छिन्, ‘दुई वर्षपछि मेरो श्रीमान घर फर्किदै हुनुहुन्थ्यो । यता काठमाडौंबाट मलाई आन्दोलनमा बोलाएको बोलाएै थिए । मैले श्रीमानसित म के गरुँ भनेर सोधेँ । उहाँले जा न त भन्नुभयो । संयोगले उहाँ गाडीबाट ओर्लेर गाउँ झर्नु र म काठमाडौंका लागि गाडी चढ्नु एकै दिन भयो ।

यो कुरालाई लिएर उहाँले निकै चित्त दुखाउनुभएको रहेछ । अहिले अरुसित भन्नुहुन्छ रे । यो कुरा मलाई पनि अहिले फिल भइरहेको छ ।’
अब के गर्ने ?

शान्ताका अगाडि एउटा विशाल प्रश्नचिन्ह खडा भएको छ, अब के गर्ने ? उनलाई श्रीमानविरुद्ध कानूनी प्रक्रियामा जानका लागि चर्को दवाब छ । तर, उनको मन मानिरहेको छैन ।

उनी भन्छिन्, ‘म अहिले ठूलो धर्मसंकटमा छु । बहुविवाहमा मुद्दा हालुँ भने श्रीमानको टीठलाग्दो अनुहार सम्झेर माया लाग्छ, नहालुँ भने ममाथि अनेक प्रश्नहरु उब्जिन्छन् । आफैं अन्याय सहेर बस्नेले के राजनीति गर्नु पनि भन्छन् । केही सोच्न सकेकी छैन ।’

‘यो मेरो मात्रै होइन, नेपालका धेरै नेपाली नारीहरुको व्यथा हो । मजतिको महिलाले बहुविवाह सहेर बसेँ भने अरुलाई कस्तो सन्देश जाला भन्ने प्रश्न एकतातिर छ । तर, म हतारमा निर्णय लिन चाहन्न । मैले मेरा छोराछोरीको विषयमा पनि सोच्नुपर्छ ।’
- अनलाइनखबर