घैँटेको सम्पत्ति छानबिन गर्दै प्रहरी

घैँटेलाई सहिद घोषणा गरिनुपर्छ : सभासद्
संसद्को बिहीबारको बैठकमा कांग्रेस सभासद्हरूले प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार घौटेलाई सहिद घोषणा गर्न माग गरे । सभासद् कौसर साहले घौटेको गैरकानुनी हत्या भएकाले सहिद घोषणा गरिनुपर्ने बताए ।
अर्का कांग्रेस सभासद् भीमसेनदास प्रधानले पनि घैटेको हत्या गरिएको दाबी गर्दै गुन्डागर्दी छाडेर समाजसेवामा सक्रिय उनको हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न माग गरे ।

प्रहरीसँगको मुठभेडमा मारिए : गृहमन्त्री गौतम

सभासद्हरूको जवाफमा गृहमन्त्री वामदेव गौतमले प्रहरीसागको मुठभेडमा घौटेको मृत्यु भएको बताए । उनले भने, ‘अपराध महाशाखाबाट फरार अभियुक्त कुमार घौटेलाई खोजी गर्ने सिलसिलामा काठमाडौंको कपुरधारा पुग्दा प्रहरीलाई देख्नासाथ त्यहाा रहेका व्यक्तिले आक्रमण गरे । प्रहरीले प्रतिकार गर्दा घौटेको मृत्यु भयो, दुईजना घाइते भए ।’

२० करोडभन्दा धेरै अवैध सम्पत्ति

प्रहरीलाई प्राप्त प्रारम्भिक विवरणअनुसार कुमार घौटेसाग २० करोडभन्दा बढीको अवैध सम्पत्ति छ । उनको ‘क’ वर्गको गजुरमुखी कन्स्ट्रक्सनमा कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी श्रीमती पनि साझेदार छिन् । बुधबार घौटे मारिएपछि टिचिङ अस्पतालमा भएको नाराजुलुसमा समेत केसी सहभागी थिए ।

==============================================================
काडमाडौं, ५ भदौं। इन्काउन्टरमा बिहीबार मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको प्रहरीले सम्पत्ति छानबिन थालेको छ । गुन्डागर्दीलगायत अवैध गतिविधिबाट उनले करोडौँ सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा प्रहरीले छानबिन सुरु गरेको हो ।

घैँटेको अवैध सम्पत्तिको छानबिन सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले उनका सहयोगी र आफन्तको समेत सम्पत्ति छानबिन गरेर कारबाहीका लागि प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने भएको छ ।

प्रहरीलाई प्राप्त वितरणअनुसार घैँटेसँग २० करोडभन्दा धेरै सम्पत्ति छ । गजुरमुखी कन्स्ट्रक्सन नामक ‘क’ वर्गको निर्माण कम्पनीका उनी मालिक हुन् । जसमा कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी पनि साझेदार छन् । सोही कम्पनीबाट घैँटेले राजनीतिक पहुँच र गुन्डागर्दीको आधारमा ठूला–ठूूला सरकारी ठेक्काहरू हात पार्दै आएका थिए ।

हप्ता असुली र जबर्जस्ती असुलीबाट पनि घैँटेले सम्पत्ति जोडेको प्रहरी अधिकारी बताउँछन् । ‘स्कुल–कलेजमा आफ्ना सहयोगीलाई डिआई (डिसिप्लेन इन्चार्ज) नियुक्त गरेर पनि पैसा असुल्दै आएको खुलेको छ,’ एसएसपी खनालले भने ।

सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी मिलेर करिब तीन वर्ष पहिले पाँच डनको सम्पत्ति अनुसन्धान गरी मुद्दा दायर गरे पनि राजनीतिक पहुँचकै आधारमा घँैटेको सम्पत्तिको छानबिन भएको थिएन । अवैध रूपमा कमाएको पैसा नै नेताहरूलाई बाँडेर उनले आफूलाई बलियो बनाउँदै लगेको प्रहरी अधिकारी बताउँछन् । कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी, भीमसेनदास प्रधान, धनराज गुरुङलगायतका नेताहरूसँग घैँटेको राम्रो सम्बन्ध थियो ।

छोरीलाई स्कुल पुर्‍याएर स्कुटरमा फर्कंदै गर्दा बिहीबार कपुरधारामा घरनजिकै घैँटेको अपराध महाशाखाको टोलीसँग मुठभेड भएको थियो । हतियार रहेको आशंकामा सर्च गर्न खोज्दा प्रहरीमाथि फायरिङ गरेपछि जवाफी फायरिङमा उनी मारिएको प्रहरीले जनाएको छ । आफन्तले भने योजनाबद्ध रूपमा नै उनको हत्या गरिएको बताएका छन् ।

आफन्त र सहयोगीले शुक्रबार पनि घैँटेको हत्या भएको भन्दै विरोधमा नयाँ बजारमा प्रदर्शन गरेका थिए । केही सभासद्सहितको टोली राष्ट्रिय मानवअधिकार आयोगमा समेत पुगेर उनको हत्या भएको बताएको थियो । आयोग सदस्य सुदीप पाठकले घटनाको छानबिन गर्ने आश्वासन दिएका थिए । यसअघि घैँटेले आफ्नो इन्काउन्टर गर्न खोजिएको भन्दै २७ असारमा मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

केही सभासद् तथा घैँटेका सहयोगीले शुक्रबार आन्दोलनबारे इन्द्रेणी कम्प्लेक्समा बसेर छलफल गरेका छन् । तर, ठूला नेताहरूले आन्दोलन नगर्न दबाब दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।