जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा पक्राऊ

दुई नम्बर गणबाट पासाङको चेतावनी– अझै २ सय ५० वर्ष संघर्ष गर्छौँ
सरकाले दमन गरेर पञ्चायती शैली प्रस्तुत गरेको आरोप 

काठमाडौँः आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पा महाराजगञ्जको चप्पल कारखाना नजिकबाट पक्राउ परेका छन् ।

उनीसँगै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य विशन राई, आदिवासी राष्ट्रिय युवा फोर्सका अध्यक्ष जीएस गुरुङ,जनमुक्ति पार्टीका युवा नेता वोम दर्नाललगायतका २५ जनालाई पनि चप्पल कारखाना नजिकैबाट पक्राउ गरेको पासाङ शेर्पाले जानकारी दिए ।

‘शान्तिपूर्ण जुलुसमा हिँडिरहेका बेला प्रहरीले लछार–पछार गर्दै हामीलाई पक्राउ गर्‍यो,’ प्रहरी तालिम केन्द्र दुई नम्बर गण महाराजगञ्जमा रहेका शेर्पाले टेलिफोनबाट कुराकानी गर्दै भने, ‘लोकतान्त्रिक मूल्य–मान्यता विपरित सामान्य नारा–जुलुस गर्दा प्रहरीले हामीलाई पक्राउ गरेको छ, यसप्रति घोर आपत्ति छ ।’

उनले केही आदिवासी–जनजाति नेतालाई पक्राउ गरेर र दमन गरेर आन्दोलन निस्तेज पार्ने सरकारको षडयन्त्रलाई फिका बनाई दिने चुनौति दिए ।

‘हामीले नयाँ संविधानमा आदिवासी–जनजातिको पहिचान खोजेका छौँ,’  ‘उनले भने,  ‘२ सय ५० वर्षसम्म शासकको अन्याय र थिचोमिचो रहेर बस्यौँ, अझै २ सय ५० वर्ष संघर्ष गर्न तयार छौँ तर अधिकार प्राप्त नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले सरकारले दमन गरेर पञ्चायती शैली प्रस्तुत गरेको आरोप लगाए ।
- नयाँ पेज