‘सरकारले अधिकार नदिए आफै खोस्न लिम्बुहरुले जानेका छन्’

इटहरी, भदौ १२ – नयाँ बन्ने संबिधानमा लिम्बुवानलाई अधिकार नदिए तथा अरुण पूर्वको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषित नगरे मुलुकमा आन्दोलनको आँधीबेरी ल्याउने लिम्बुवानका नेताहरुले चेतावनी दिएका छन् । शनिबार इटहरीमा सम्पन्न लिम्बुवानको बिरोधसभालाई सम्बोधन गर्दै लिम्बु नेताहरुले यस्तो बताएका हुन् ।

नेपालमा संविधानमार्फत् धर्म निरपेक्षता कायम हुनुपर्ने, एकल जातीय पहिचान बन्द गरिनुपर्ने , सरकारको एकलौटी निर्णयहरु खारेज गरिनुपर्ने जस्ता मागहरु राख्दै इटहरीमा शनिबार लिम्बुवान पार्टीले बिरोध सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्राप्तीको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको बताए । अरुण पूर्वको नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राज्य रहेको हुँदा सरकारले नहिचकिचाई इमान्दारिताका साथ लिम्बुवानलाई सुम्पन अनुरोध गर्दे लिङ्देनले सरकारले नदिए आफनो अधिकार खोस्न लिम्बुहरु आफै अघि बढने बताए ।

कार्यक्रममा अर्का लिम्बुवान नेता सञ्जुहाङ पालुङवाले पूर्वको केन्द्र इटहरीबाट लिम्बुवानले आन्दोलनको बिगुल फुकिएको र आन्दोलनकै आदिबेरीले सिंहदरबारमा बसेका जिम्मेवार राजनीतिकदलहरुलाई हल्लाउने चेतावनी दिएका छन् ।

नेता पालुङवाले शान्तिपुर्ण आन्दोलनबाट आफनो अधिकार माग्दा सरकार मुकदर्शक बनेकोले अबका दिनमा लिम्बुवानले सशक्त आन्दोलन शुरु गर्ने बताए ।

त्यस्तै लिम्बुवानकै अर्का नेता रामभक्त कुरुम्बाले सरकारले मुलुकमा जातीय दंगा भडकाएर गृहयुद्ध शुरु गरेको आरोप लगाएका छन् । कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्षमण न्योपाने सहित ८ प्रहरी र डेढ बर्षीय बालकको मृत्यु हुने गरी भएको बिभत्स घटनाको भत्सर्ना गर्दे घटनाको सम्पूर्ण जिम्मेवार नेपाल सरकार स्वयंले लिनुपर्ने बताएका छन् । संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रिय समितिको आयोजनामा सम्पन्न बिरोधसभामा अधिकांस लिम्बुवान नेताहरुले धर्मनिरपेक्षताको पक्षमा बयान गरेका थिए ।
- रातोपाटी