आदिवासी जनजाति महासंघको आजको “नेपाल बन्द” किन सोचेजस्तो सफल हुन सकेन ?

काठमाण्डौ, नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन काठमाडौ‌ं उपत्यकामा सोचेजस्तो हुन सकेको छैन । 

चोकचोकमा बन्द आह्वानकर्ताहरु झण्डासहित नारा लगाइरहेका छन् । तर सीमित संख्याका आन्दोलनकारीहरुले शान्तिपूर्ण आन्दोलन भन्दै विगतको जस्तो सवारी साधन तोडफोड गरेका छैनन् । खासगरी मोटरसाइकल र सार्वजनिक सवारी साधनहरु चलिरहेका छन् ।

बन्दकर्ताहरुले राजधानीबाट महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, तमु (गुरुङ) राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, किराती राष्ट्रिय मुक्ति मोर्चाका सचिव राकेश किरातीलगायतका करिब ४ दर्जन प्रदर्शनकारी पक्राऊ गरेको जानकारी दिएका छन् ।

बन्दको आह्वान गर्दै विभिन्न जातीय संगठन, जनजाति अभियन्ता तथा राजनीतिक पार्टी निकट जातीय मोर्चाका कार्यकर्ताहरु सडकमा छन् । तथापि आन्दोलन अपेक्षाकृत उठ्न सकेको छैन । आयोजकले आह्वान गर्नासाथ बन्द हुने राजधानी आदिवासी जनजाति महासंघले गरेको बन्दको क्रममा अपेक्षाकृत किन बन्द भएन त ? यसका केही विशिष्ट कारणहरु छन् ।

पहिलो, बन्द असफल बनाउन हिजोदेखि नै ‘फिर्ता भयो रे’ भन्ने हल्ला फैलाइएको थियो । हिजो साँझ सामाजिक सञ्जाल र केही अनलाइनले पनि बन्दा फिर्ता भएको समाचार लेखेका थिए । जतिबेला आयोजक नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु भने मशाल जुलुस गर्दै थिए । आयोजकले निर्णय नगरी यस्तो हल्ला किन भयो ? किनकि हिजोदेखि नै बन्द फिर्ता भएको अफवाह चलाएर सर्वसाधारणलाई ‘बन्द उल्लङ्घन गराउने’ प्रयास थालिएको थियो । यसका अलावा अन्य विशिष्ट कारणहरु पनि छन् ।

अर्कोतर्फ, यो ‘सरकारी जनजातिको बन्द आह्वान हो’ भनेर कतिपय राजनीतिक पार्टीहरुले नै यसको विरोधमा आफ्ना कार्यकर्ता नजाऊन् भन्ने सांकेतिक निर्देशन गरेको थियो ।

दोस्रो, बन्दबाट सर्वसाधारणहरु यति आजित भइसकेका छन् कि यस्तो कार्यक्रमको उनीहरु नाम पनि लिन चाहँदैनन् । त्यसैले, सकभर यसको अवज्ञा गर्ने र विरोध गर्ने बाटो खोजिरहेका हुन्छन् । कसैले हिम्मत गरेर दह्रोसँग यसको प्रतिकारमा उत्रने हो भने अधिकांशले बन्दको विरोधमा साथ दिनेछन् । यस्तो अवस्थामा आह्वानकर्ताको शक्ति र सामथ्र्यले भ्याएसम्म डरको भरमा बन्द गराउने हो जसमा जनजाति महासंघ चुकेको देखिन्छ ।

तेस्रो, पछिल्लो पटक ठूला भनिएका दलहरुको आह्वानमा हुने बन्दको क्रममा पनि खास आन्दोलनकारीहरुको उपस्थिति देखिएको छैन । तर एउटा निश्चित राजनीतिक विचारबाट प्रभावित त्यस्ता कार्यकर्ताहरु बन्द आह्वानको दिन झिसमिसेमै सडकमा आउँछन् । दुई/चार वटा सवारी साधन तोडफोड गर्छन् । त्यो खबर मिडियामा हल्ला हुन्छ र स्वतः बन्द हुने गरेको देखिन्छ । तर गैरसरकारी संस्थाको रुपमा रहेको महासंघले विगत १० वर्षदेखि आन्दोलनकारी मानसिकतासहितको भूमिका बनाए पनि आन्दोलनको प्रकृति भने उही ‘हाजिरी शैली’मा गरिरहेको छ । आन्दोलनकारीहरुलाई विहान ७:०० बजे मात्र सडकमा आउन आह्वान गरिएको थियो । जबकि त्यतिञ्जेल सडकमा निकै सवारी साधन गुडिसकेका हुन्छन् ।

चौथो, महासंघले विगतमा पनि निकै सफलतापूर्ण यस्ता आन्दोलनको नेतृत्व गरिसकेको छ । माओवादी भर्खर शान्ति प्रक्रियामा आएर उसैको जगजगि भइरहेको बेला २०६३ सालमा उसको समेत विरोध गर्दै बन्द आह्वान गर्ने पहिलो शक्ति महासंघ थियो । जतिबेला माओवादीविरुद्ध कसैले चुँसम्म बोल्न सक्दैन थियो । माओवादीले उक्त बन्दको विरोधसमेत गरेको थियो । भलै उसले प्रतिकार गरेन । त्यस्तो शक्तिशाली महासंघ अहिले किन कमजोर बन्यो ?

पाँचौं, हिजो पद्मरत्न तुलाधरको नेतृत्वमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन गठन गरेर जनजाति संघ संगठनलाई एकतावद्ध  बनाएर आन्दोलन शुरु भएको बेला महासंघले विरोध गर्दै बस्यो । त्यो यति महत्वपूर्ण समय थियो कि आन्दोलन उत्कर्षमा पुगेको भए अहिले पहिचानसहितको संघीयता स्थापित गर्न धेरै हदसम्म सजिलो हुने थियो । तर मुख्यतः महासंघको नेतृत्वले ‘आन्दोलनमा हाम्रो समर्थन छैन’ भनेर वक्तब्यवाजी गर्दै बसे । जबकि महासंघको उपाध्यक्षलगायत केही पदाधिकारी, जिल्ला शाखा, जातीय संगठन तथा विदेशमा रहेका शाखासमेत आन्दोलनको पक्षमा थियो । यस्तो अवस्थामा अध्यक्ष र महासचिवले सभासद् हुनका लागि पार्टीको दबाबमा परेर आन्दोलनको विपक्षमा गए भन्ने ठूलो मनोविज्ञान निर्माण भएको थियो । भलै उनीहरुले पार्टीको दबाब खेप्नु नपरेको होस् तर कांग्रेस र एमालेको कोटाबाट सभासद् बनेपछि आन्दोलनका ‘क्रिम’ मानिसहरुलाई उनीहरुप्रति ठूलो चित्त दुखाइ भएकै छ । यसै कारण ‘सरकारी जनजातिको बन्द हो’ भन्ने भ्रम पनि परेको हो । यस्तो अवस्थामा महासंघ नेतृत्वले नेपाल बन्द जस्तो ठूलो शक्ति आवश्यक पर्ने आन्दोलन घोषणा गर्ने कि नगर्ने विचार गर्नुपर्थ्यो । यसमा महासंघ नेतृत्वले आफ्नो वास्तविक शक्ति आँकलन गर्न नसकेको स्पष्ट देखिन्छ ।

छैटौँ, महासंघले आह्वान गरे पनि वास्तवमा यसअघि आयोजना हुने आन्दोलनहरुमा निश्चित राजनीतिक शक्ति वा पार्टीहरुको सक्रिय सहभागिता रहन्थ्यो । तर अहिले महासंघसँग त्यसरी सहभागी भइदिने राजनीतिक शक्ति असन्तुष्ट छ । जसले हिजो महासंघलाई शक्तिको रुपमा स्थापित गरिदियो, तिनै अगुवाहरुको अवमूल्यन गर्नेगरी महासंघ अघि बढ्नुको परिणति पनि हो यो । यसबाट पाठ सिकेर नेतृत्वले चाँडै सच्चिने हिम्मत गर्नुपर्छ । अन्यथा सम्पूर्ण आदिवासी जनजातिहरुको साझा संस्थाको रुपमा रहेको महासंघको शक्ति र सामर्थ्य झनै क्षिण हुँदै जानेछ जुन पहिचान पक्षधर शक्तिहरुको लागि ठूलो दुर्भाग्यको कुरा हो ।
- इसमता डट कम