१०२ वर्षीया वृद्धाका बलात्कारीलाई दश वर्ष जेल

काठमाडौं, ५ भदौ । १ सय २ वर्षकी वृद्धालाई जबरजस्ती करणी गरेको आरोप लागेका कुमार कामी भन्ने कुम्भबहादुर सुनारको सफाइ पाउने आशा त्यति बेला तुहियो, जति बेला सर्वोच्च अदालतले उनलाई १० वर्ष कैद गर्ने फैसलालाई सदर गर्यो।

धादिङ जिल्ला अदालतले १० वर्ष कैद गरी पीडितलाई ५० हजार रुपियाँ भराउने गरी भएको फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेपछि झिनो आशा लिएर उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले पनि पहिलो सुनुवाइमा नै १ सय २ वर्षकी वृद्धालाई जबरजस्ती करणी गरेको ठहर गरी सोही फैसलालाई सदर गरेपछि अब कुम्भबहादुर १० वर्ष कैद बस्न बाध्य भएका छन्। उनले पीडित वृद्धालाई ५० हजार रुपियाँ पनि बुझाउनुपर्ने भएको छ।

२०६६ साल वैशाख २४ गते राति १२ बजे धादिङ जिल्ला बैरेनी गाविस बेल्खु बस्ने १ सय २ वर्षकी विविधा स्याङ्तान (नाम परिवर्तन) ले सोही ठाउँ बस्ने रामबहादुर दमै र कुम्भबहादुरले आफूलाई जबरजस्ती करणी गरेको भन्ने आरोप लगाई प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्।

उनीहरूले विविधालाई करणी गरेको भन्ने विभिन्न प्रमाणको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले सोही जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सो मुद्दा सर्वोच्च अदालतसमक्ष आइपुगेको हो।

सो विषयलाई सर्वोच्च अदालतका न्यायाधीशहरू दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको इजलासले बिहीबार लामो समय लगाएर सुनुवाइ गरेको थियो। न्यायाधीश जोशी र उपाध्यायको इजलासले कुम्भबहादुरले १ सय २ वर्षकी वृद्धालाई जबरजस्ती करणी गरेकै ठहर गरी उनलाई १० वर्ष कैद गरी ५० हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको हो।

आरोपितमध्ये कुम्भबहादुर मात्र सर्वोच्च अदालतमा आएका थिए। अर्का आरोपित रामबहादुर पुनरावेदन अदालतकै फैसलामा चित्त बुझाई सर्वोच्च आएका थिएनन्। जबरजस्ती करणी गरेका आरोपितद्वय कुम्भबहादुर र रामबहादुरले रक्सी सेवन गरी घर जाने क्रममा वृद्धा बसेको गोठमा गएको देखिएको छ। भोलिपल्ट ती वृद्धाले आफूलाई ती दुईले जबरजस्ती गरेको भनी गाउँलेहरूलाई बताएकी थिइन्।

अदालतले जाहेरीमा किटानी भएको, प्रहरीमा उनीहरूले ती वृद्धालाई आफूहरूले करणी गरेको भनी स्वीकार गरेको, पीडित वृद्धाको देव्रे हातको पाखुराको पछिल्लो भागमा नीलडाम रहेको, कुहिनो र ढाडमा कोतरिएको, पीडितका साक्षीहरूले कुम्भबहादुर र रामबहादुर नै पीडक भएका भनी बकपत्र गरेका जस्ता प्रमाणहरूको आधारमा पीडक भनिएकालाई दोषी ठहर गरेको छ।

कुम्भबहादुर र रामबहादुरले अदालतमा भने आफूहरूले त्यस्तो अपराध नगरेको जिकिर लिएका छन्। उनीहरूले चिकित्सकबाट पीडित र आफूहरूको स्वास्थ्य परीक्षणबाट तयार पारिएको प्रतिवेदनबाट पनि आफूहरू निर्दोष रहेको पुष्टि हुने बताएका थिए। 

उनीहरूले सो प्रतिवेदनमा स्पष्ट रूपमा आफूहरू दोषी भएको भनी नभनिएको अवस्थामा आफूहरूलाई दोषी ठहर गर्ने तल्ला अदालतहरूको फैसला उल्टी हुन माग गरेका थिए। हाल आरोपितहरू कारागार कार्यालय, धादिङमा थुनामा रहेका छन्। उनीहरू अब अदालतको फैसलाबमोजिम १० वर्ष कैदमा बस्नुपर्ने भएको छ।