छिटफुट असन्तुष्टिबाहेक पोर्तुगल एनआरएनमा सहमति

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको पाँचौ अधिवेशनका लागि कार्यसमितिको चयन अन्तत छिटफुट असन्तुष्टिबाहेक सहमतिमा टुङ्गिएको छ । शुक्रबार सबै पदहरुमा आवश्यकताभन्दा बढी भएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि सिङ्गो कार्यसमिति निर्विरोध चयन भएको छ ।

निर्विरोध चयन हुनेहरुमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रमेशकुमार गुरुङ, अध्यक्षमा भीमकमल केसी, उपाध्यक्षत्रयमा शम्भु गौतम, राजन शेरचन, सुनील श्रेष्ठ, महासचिवमा सोमफुरी शेर्पा, सचिवद्वयमा कृष्ण कँडेल, ध्रुवप्रसाद सापकोटा, कोषाध्यक्ष रुपक श्रेष्ठ, युवा संयोजक प्रितमबहादुर गुरुङ र महिला संयोजकमा जयकला राई रहेका छन् ।   

सदस्यहरुमा धर्मराज अधिकारी, मनीराज सापकोटा, मुक्तिनारायण श्रेष्ठ, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रल्हाद कँडेल, राजेन्द्र अधिकारी, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ, गीता राना तामाङ, आङ्नुरी शेर्पा, गुमानसिंह कार्की, श्यामप्रसाद ढकाल, कोमलनाथ नेपाल र रामहरी घिमिरे चयन भएका छन् । 

अन्तर्राष्ट्रिय समन्वय परिषदबाट हेमन्त सेढाई, उपाध्यक्षबाट सूर्जे भट्टचन, महासचिवबाट याम गुरुङ र हेमराज सुवेदी, युवा संयोजकबाट दीपक पौडेल र तुलसीबहादुर गुरुङ र महिला संयोजकबाट विष्णु लुइँटेल सुवेदीलगायतले उम्मेदवारी फिर्ता लिएपछि पाँचौ अधिवेशनमा निर्वाचन नहुने भएको हो ।

बाहिरिएका साथीहरुलाईसमेत समेट्न हामीले भरमग्दुर प्रयास गरेका हौँ तर सकेनौं, निरन्तर वार्तामा सहभागी भानु सापकोटाले भने, 'निर्वाचनमा जानु परेन, यो पनि धेरै खुशीको कुरो हो ।' 

अर्कोतिर प्रवासी नेपाली मंचले प्रेस विज्ञप्ति प्रकाशन गरी निर्वाचन समितिप्रति रोष प्रकट गरेको छ । विज्ञप्तिमा निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न बन्चित बनाएको गुनासो छ । निर्वाचन कार्यालय राखिएकै एनआरएनको हलमा उम्मेदवारी दर्ता गरेकै व्यक्तिहरुद्वारा उम्मेदवारको मनोनयन दर्ता गर्न आएकाहरुको कागजात खोसेर फ़्याकिदिए । उनीहरुका अनुसार, यस्तो हर्कत देख्दा देख्तै निर्वाचन समिति मुकदर्शक भयो । यस्तो निर्वाचन प्रक्रियामा उनीहरुको कुनै सहभागिता नरहने बताएका छन् ।

'प्रवासी नेपाली मंचका साथीहरु र म ७ बज्न ५ मिनट बाँकी छँदै ढोकामा पुगेका थियौ । केही साथीहरुले ढोका बन्द गरेर भित्र उभिएका थिए।' जनसम्पर्क समितिका पूर्व उपाध्यक्ष खेमराज रानाभाटले भने, 'आइसीसीमा उम्मेदवारी दिन गएको थिएँ । अफिसमा छिर्नसमेत दिइएन ।'  

विज्ञप्ति र रानाभाटको गुनासोको पुष्टी गर्दै प्रेम नेपालीले नमस्ते नेपाली डट कमसंग भने - 'कास्की समाजका अध्यक्ष नवीन गिरीले उपाध्यक्षमा, प्रवासी नेपाली मंचका प्रकाश सुवेदीले कोषाध्यक्षमा र रोबोट लिम्बुले उपाध्यक्षमा उम्मेदवारी दिन एनआरएन गए पनि ढोकाबाट भित्र छिर्न पाएनन् ।' 

'समयभन्दा केही मिनट अघि ढोका बन्द भएको भन्ने गुनासो त आयो तर हामी व्यस्त रहेकाले त्यत्तिबेला केही थाहा भएन' निर्वाचन समिति संयोजक अशोकचन्द्र घिमिरेले आफ्नो बचाउ गरे ।