मलेसिया र सिंगापुर गएका अख्तियारका हाकिम ह्वीस्कीमा मस्त

२१ असार, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्था बुझ्न मलेसिया र कतार गएको अख्तियार दुरुपयोग अनुसन्धान टोलीको जम्बो टोलीका सदस्यहरुले मदिरा सहितको भोजमा मस्ती गरेको तस्वीर फेसबुकमा राखि अख्तियारको छविमै आँच पुर्‍याएको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ ।

अख्तियारका प्रहरी महाशाखाका प्रमूख डीआईजी पशुपति उपाध्याय, एसएसपी केदार रिजालसहितको अख्तियारको टोली मलेसियामा अति कष्टसाध्य काम गर्न विवश नेपालीको अवस्था बुझ्न भन्दा पनि घुमघाम र मस्ती गर्न गएको मदिरामा मस्त भएको फोटो सामाजिक सञ्जालमा राखेपछि पुष्टि भएको छ ।

अख्तियारको टोलीले सिंगापुरमा मदिरासहितको रमझम देखाएको छ । पहिला अख्तियारको कार्यालय सहयोगी र पछि करारमा कम्प्यूटर अपरेटरमा राखिएकी आकृति रायमाझीलाई पनि अनुसन्धान विज्ञका रुपमा मलेसिया लगिएको छ ।