५० लाखसम्म दलाललाई बुझाएर अमेरिका छिर्न खोज्ने सयौ नेपालीहरु जेलमा सास्ती खेप्तै

किशोर पन्थी/ न्युयोर्क, ५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरु गैरकानुनी रुपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुन्द्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपालीहरु जंगली जनावरको शिकार हुन्छन् । कतिपय समुन्द्रमा डुंगा डुबेर गोही र सार्कको शिकार हुन्छन् । कतिपय अमेरिका आउनु अगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यतिधेरै जोखिमका बीच पनि मेक्सिको हुँदै नेपालीहरु गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ ।



अमेरिकाको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्ने क्रममा कैयन नेपालीहरु सिमा सुरक्षा बलको फन्दामा पर्छन् । त्यसपछि उनीहरुको जेलको यात्रा सुरु हुन्छ । कतिपय केही महिनापछि  जेलबाट छुट्छन्, कतिपयलाई डिपोर्ट गरेर नेपाल फिर्ता पठाईन्छ । जेलबाट छुटेकाहरु मध्ये अधिकांश बाहिर निस्केपछि अमेरिका आउँदाको ऋण तिर्न हरेक दिन १२ देखि १४ घण्टासम्म र तीसै दिन काम गर्न बाध्य हुन्छन् । जेलबाट छुट्न नसकेर डिपोर्ट हुनेहरु आफ्नै अगाडि सपनामा आगो लागेको हेर्न बाध्य हुन्छन् ।

अमेरिकाका २९ वटा जेलमा नेपालीहरु

जुलाईको दोश्रो सातासम्मको अवस्था हेर्दा अमेरिकाका २९ वटा जेलमा नेपालीहरु अमेरिकी सपना सजाएर बसिरहेका छन् । अमेरिकामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट –आईस) को माताहतमा ८२ वटा अध्यागमन जेलहरु रहेका छन् । ती मध्ये हाल २९ वटा जेलमा नेपालीहरु रहेका छन् । उनीहरु आफू कहिले छुट्न पाईएला भन्दै दिन गनेर बसिरहेका छन् । क्यालिफोर्नियादेखि टेक्सास हुँदै न्युयोर्कसम्मका जेलमा कैयन नेपालीहरु अमेरिकी सपनालाई आफूसँगै कैद गरेर बसिरहेका छन् ।

लुजियानाको बेजाईलमा रहेको साउथ लुजियाना करेक्सनल सेन्टर, क्यालिफोर्नियामा रहेको एडालान्टो डिटेन्सन फेसिलिटी, न्युयोर्कको बटाभियामा रहेको बफेलो फेडेरल डिटेन्सन फेसिलिटी, एरिजोनाको फ्लोरेन्समा रहेको सेन्ट्रल एरिजोना डिटेन्सन सेन्टर, एरिजोनामा नै रहेको फ्लोरेन्स करेक्सनल सेन्टर, क्यालिफोर्नियाको सान डिएगोमा रहेको करेक्सन कर्पोरेशन अफ अमेरिका, कोलोराडोमा रहेको डेनभर कन्ट्राक्ट डिटेन्सन फेसिलिटी, न्युजर्सीको एलिजावेथमा रहेको एलिजाबेथ कन्ट्राक्ट डिटेन्सन फेसिलिटी, एरिजोनामा रहेको एलोय फेडेरल कन्ट्राक्ट फेसिलिटी, अलाबामा रहेको इटोहा काउन्टी जेल र टेक्सासको ह्युष्टन कन्ट्राक्ट डिटेन्सन फेसिलिटीमा नेपालीहरु जेल जीवन विताइरहेका छन् ।

त्यस्तै भर्जिनियाको फार्मभिल डिटेन्सन सेन्टर, क्यालिफोर्नियाको इम्पेरियल रिजनल एडल्ड डिटेन्सन फेसिलिटी, जर्जियाको अरविन काउन्टी डिटेन्सन सेन्टर, क्यालिफोर्नियाको जेम्स ए म्युसिक डिटेन्सन फेसिलिटी, लुजियानामा नै रहेको लास्सेल डिटेन्सन फेसिलिटी, टेक्सासमा रहेको लारेडो प्रोसेसिङ सेन्टर, क्यालिफोर्नियाको मेसा भर्ड डिटेन्सन फेसिलिटी, वासिंटनमा रहेको नर्थवेष्ट डिटेन्सन सेन्टर, पेन्सिलभेनियामा रहेको पाइक काउन्टी जेल, टेक्सासमा रहेको पोर्ट इशावेल डिटेन्सन सेन्टर, टेक्सासकै रोलिङ प्लेन डिटेन्सन सेन्टर, मिनासोटामा रहेको सेरवर्न काउन्टी जेल, टेक्सासमा रहेको साउथ टेक्सास डिटेन्सन कम्प्लेक्स, जर्जियाको स्टेवार्ड डिटेन्सन सेन्टर, क्यालिफोर्नियामा रहेको दियो लेसी फेसिलिटी, टेक्सासमा रहेको वेष्ट टेक्सास डिटेन्सन फेसिलिटी, मेरिल्याण्डको वेरसेस्टर जेल र पेन्सिलभेनियाको योर्क काउन्टी जेलमा ठूलो संख्यामा नेपालीहरु रहेका छन् ।

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)का प्रवक्ता भिन्सेन्ट पिकार्डले अमेरिकाका विभिन्न २९ वटा इमिग्रेशन जेलमा नेपालीहरु रहेको पुष्टी गर्दै भने– ‘हाम्रो रेकर्ड अनुशार हाल अमेरिकाका २९ वटा जेलमा नेपालीहरु रहेका छन् । कहिलेकाँही यो संख्यामा घटीबढी हुनसक्छ । जेल पर्नेहरुको संख्या थपिदै जाँदा र एउटा जेलबाट अर्को जेलमा सार्नुपर्ने अवस्था पनि आईरहने भएकाले कहिलेकाँही नेपालीहरु रहेको जेल संख्या थपिनसक्ने सम्भावना पनि रहन्छ । तर, मुख्यतया यीनै २९ वटा जेलहरुमा नेपालीहरु रहँदै आएका छन् ।’

टेक्सासमा रहेको पोर्ट इशावेल डिटेन्सन सेन्टर । टेक्सास क्षेत्रमा पक्राउ परेपछि अधिकांश नेपालीहरुलाई यहीं डिटेन्सन सेन्टरमा ल्याइन्छ । पछि उनीहरुलाई अन्य डिटेन्सन सेन्टरमा स्थानान्तरण गरिन्छ ।

कुन जेलमा कति छन् नेपाली ?

जुलाईको दोश्रो सातासम्मको अद्यावधिक विवरण अनुशार अमेरिकाका सबै अध्यागमन जेलमा रहेका नेपालीहरुको संख्या १ सय ११ रहेको छ । कहिलेकाँही हजारौं नेपालीहरु जेलमा रहेको प्रचारबाजी आउने गरे पनि त्यो प्रचारवाजी सत्य नरहेको विभिन्न इमिग्रेशन जेलको स्थलगत भ्रमण र युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले प्रदान गरेको अद्यावधिक तथ्यांकबाट पुष्टि भएको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)का प्रवक्ता भिन्सेन्ट पिकार्डले हजारौं नेपाली जेलमा रहेको भन्ने प्रचारवाजी आफूले नसुनेको र त्यस्तो प्रचारवाजी भएको भए त्यो गलत रहेको जानकारी दिए ।

अमेरिकामा रहेका अध्यागमन जेलहरुमध्ये सबैभन्दा धेरै नेपालीहरु जर्जियाको जेलमा रहेका छन् । जर्जियाको स्टेवार्ड डिटेन्सन सेन्टरमा हाल २३ जना नेपालीहरुले बन्दी जीवन विताईरहेका छन् । टेक्सास र एरिजोना क्षेत्रमा सिमा पार गरेर आउने क्रममा धेरै नेपालीहरु पक्राउ पर्ने गरे पनि उनीहरुमध्ये कैयनलाई जर्जियाको डिटेन्सन सेन्टरमा स्थानान्तरण गरिंदै आएको छ । त्यस्तै जर्जियाको अरविन काउन्टी डिटेन्सन सेन्टरमा हाल एकजना नेपालीले बन्दी जीवन विताईरहेका छन् । यसरी जर्जियाका दुईवटा अध्यागमन जेलमा हाल २४ जना नेपालीहरु रहेका छन् ।

त्यस्तै टेक्सासका विभिन्न ६ वटा जेलहरुमा १९ जना नेपालीहरु रहेका छन् । टेक्सासको ह्युष्टन कन्ट्राक्ट डिटेन्सन फेसिलिटीमामा २ जना नेपालीहरु रहेका छन् भने लारेडो प्रोसेसिङ सेन्टरमा २ जना नेपालीहरु रहेका छन् । टेक्सासकै पोर्ट इशावेल डिटेन्सन सेन्टरमा ८ जना र टेक्सासकै रोलिङ प्लेन डिटेन्सन सेन्टरमा ४ जना नेपालीहरु रहेका छन् । त्यस्तै साउथ टेक्सास डिटेन्सन कम्प्लेक्समा २ जना र वेष्ट टेक्सास डिटेन्सन फेसिलिटीमा १ जना नेपाली रहेका छन् । स्थलगत भ्रमणका क्रममा जुलाईको पहिलो साता टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरभित्र भेटिएका क्षेत्री थरका एकजना नेपालीले जेलभित्र ५ जना नेपालीहरु रहेको बताएका थिए । तर पछि अरु ३ जना नेपालीहरु थपिएपछि हाल त्यहाँ ८ जना नेपालीहरु रहेको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले पुष्टी गरेको छ ।

स्थलगत भ्रमणका क्रममा पोर्ट इशावेल डिटेन्सन सेन्टरमा खटिएका एकजना सरकारी अधिकारीले भने– ‘यो डिटेन्सन सेन्टरमा पहिले पहिले हरेक दिन तीनदेखि चारजनासम्म नेपालीहरुलाई ल्याइने गरेको रेकर्ड छ । तर यहाँबाट उनीहरुलाई अन्यत्रै सारिने र कैयन नेपालीहरु केही महिनाको बसाइपछि धरौटीमा छुट्ने भएकाले जेलभित्रै रहेका नेपालीहरु भने तुलानात्मक रुपमा कम छन् । नेपालको भूकम्पपछि भने यो डिटेन्सन सेन्टरमा कममात्र नेपालीलाई पक्राउ गरेर ल्याईएको छ । अब होमल्याण्ड सेक्युरिटीले नेपालीलाई टीपीएस सुविधा प्रदान गरेकाले जेलमा रहेकाहरुलाई समेत केही भए पनि राम्रो होला ।’


त्यस्तै क्यालिफोर्नियाका ६ वटा जेलमा ९ जना नेपालीहरु रहेका छन् । क्यालिफोर्नियामा रहेको एडालान्टो डिटेन्सन फेसिलिटीमा १ जना, क्यालिफोर्नियाको सान डिएगोमा रहेको करेक्सन कर्पोरेशन अफ अमेरिकामा १ जना, इम्पेरियल रिजनल एडल्ड डिटेन्सन फेसिलिटीमा ३ जना,  जेम्स ए म्युसिक डिटेन्सन फेसिलिटीमा १ जना, मेसा भर्ड डिटेन्सन फेसिलिटीमा १ जना र दियो लेसी फेसिलिटीमा २ जना नेपालीहरु रहेका छन् । लुजियानाका २ वटा जेलमा ११ जना नेपालीहरु रहेका छन् । उनीहरुमध्ये अधिकांशलाई टेक्सासबाट स्थानान्तरण गरिएको हो । लुजियानाको बेजाइलमा रहेको साउथ लुजियाना करेक्सनल सेन्टरमा ५ जना र लुजियानामा नै रहेको लास्सेल डिटेन्सन फेसिलिटीमा ६ जना नेपालीहरु रहेका छन् ।

न्युयोर्कको बटाभियामा रहेको बफेलो फेडेरल डिटेन्सन फेसिलिटीमा भने अहिले २ जनामात्र नेपालीहरु रहेका छन् । उनीहरु पनि टेक्सास र एरिजोनाको जेलबाट स्थानान्तरण गरिएकाहरु हुन् । एरिजोनामा रहेका तीनवटा जेलहरुमा भने अहिले १६ जना नेपालीहरु रहेका छन् ।

एरिजोनाको फ्लोरेन्समा रहेको सेन्ट्रल एरिजोना डिटेन्सन सेन्टरमा १ जना, एरिजोनामा नै रहेको फ्लोरेन्स करेक्सनल सेन्टरमा ५ जना र एलोय फेडेरल कन्ट्राक्ट फेसिलिटीमा १० जना नेपालीहरु रहेका छन् । उल्लेख्य नेपालीहरु रहेको अर्को जेल अलाबामा रहेको इटोहा काउन्टी जेल हो, जसमा हाल ११ जना नेपालीहरु रहेका छन् ।

यी बाहेक कोलोराडोमा रहेको डेनभर कन्ट्राक्ट डिटेन्सन फेसिलिटीमा ५ जना, न्युजर्सीको एलिजावेथमा रहेको एलिजाबेथ कन्ट्राक्ट डिटेन्सन फेसिलिटीमा १ जना, भर्जिनियाको फार्मभिल डिटेन्सन सेन्टरमा १ जना, वासिंटनमा रहेको नर्थवेष्ट डिटेन्सन सेन्टरमा ६ जना,  पेन्सिलभेनियामा रहेको पाइक काउन्टी जेलमा ३ जना, पेन्सिलभेनियाकै योर्क काउन्टी जेलमा १ जना, मिनासोटामा रहेको सेरवर्न काउन्टी जेलमा १ जना र मेरिल्याण्डको वेरसेस्टर जेलमा १ जना नेपाली रहेका छन् । उनीहरुमध्ये अधिकांश मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ पर्नेहरु रहेका छन् ।

अमेरिकाका विभिन्न राज्यमा रहेका ८२ वटा अध्यागमन जेलहरु । जसमध्ये हाल २९ वटा जेलमा नेपालीहरु रहेका छन् ।

जेलमा रहेकाहरुमध्ये ७ जना अपराधका मुद्दामा

अमेरिकामा २९ वटा जेलमा रहेका १ सय ११ जनामध्ये ७ जना आपराधिक कृयाकलापमा संलग्न भएका कारण डिपोर्टेशनको प्रकृयामा रहेकाहरु हुन् । उनीहरुले अमेरिकामा विभिन्न खाले जघन्य अपराध गरेका कारण क्रिमिनल कोर्टबाट सजायको फैसला पाईसकेपछि इमिग्रेशन कोर्टबाट डिपोर्टेशनको फैसला कुरेर बसिरहेका छन् । अपराधमा संलग्न भएपछि त्यो अपराध गरेको ठहर गर्दै क्रिमिनल कोर्टले फैसला गरिसकेपछि उनीहरुलाई अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले अनिवार्य डिपोर्टेशनको प्रकृयामा हालेको हो ।

यसरी अपराध गरेका कारण डिपोर्टेशनको प्रकृयामा जेलमा रहेका नेपालीहरुमध्ये गत जुनसम्म भर्जिनियाको जेलमा ३ जना रहेका थिए । जुलाई महिनामा २ जनालाई डिपोर्ट गरिसकिएकाले अहिले १ जनामात्र नेपाली भर्जिनियाको जेलमा रहेका छन् । त्यस्तै क्यालिफोर्नियाको जेलमा २ जना, एरिजोनाको एलोय फेडेरल कन्ट्राक्ट फेसिलिटीमामा १ जना, एटलान्टाको जेलमा १ जना, न्युयोर्कको बटाभियामा रहेको जेलमा १ जना र टेक्सासको ह्युस्टनमा रहेको जेलमा १ जना रहेका छन् । सन् २०१४ को अक्टोबरदेखि अहिलेसम्म अपराधका मुद्दामा अरु ७ जना नेपालीहरु डिपोर्ट भइसकेका छन् । डिपोर्ट हुनेहरुमा बोष्टनको जेलबाट १ जना, भर्जिनियाको जेलबाट २ जना, क्यालिफोर्नियाको जेलबाट १ जना, न्युयोर्कको जेलबाट १ जना, मिनासोटाको जेलबाट १ जना र टेक्सासको जेलबाट १ जना नेपाली रहेका छन् ।

जेल पर्ने नेपालीहरु जुनमा भन्दा जुलाईमा धेरै

अमेरिकाका केही जेलहरुमा जुन महिनाको तुलनामा जुलाईमा नेपालीहरु थपिएका छन् । क्यालिफोर्नियाको इम्पेरियल डिटेन्सन सेन्टरमा जुन महिनामा जम्मा २ जना नेपालीहरु रहेकोमा जुलाईमा त्यो संख्या ३ पुगेको छ । त्यस्तै टेक्सासको रोलिङ प्लेनमा जुन महिनामा जम्मा १ जना नेपाली जेलमा थिए तर अहिले अरु ३ जना थपिएर जेलमा हुने नेपालीहरुको संख्या ४ पुगेको छ । त्यस्तै टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरमा पनि जुलाईको दोश्रो साता केही नेपाली थपिए, अहिले यो जेलमा रहेका नेपालीको संख्या ८ छ ।

त्यस्तै कोलोराडोमा रहेको जेलमा जुन महिनामा ४ जना नेपालीहरु रहेकोमा अहिले ५ जना छन् । लास्सेल डिटेन्सन सेन्टर लुजियानामा पनि जुनमा २ जना नेपालीहरु थिए, अहिले ६ जना नेपालीहरु रहेका छन् । त्यस्तै एरिजोनाको फ्लोरेन्स जेलमा जुनमा ४ जना नेपालीहरु रहेकोमा अहिले त्यो संख्या ५ पुगेको छ । जर्जियाको स्टेवार्टमा रहेको जेलमा जुन महिनामा जम्मा ६ जना नेपालीहरु थिए । अहिले अन्य जेलबाट नेपालीहरुलाई स्थानान्तरण गरेर त्यहाँ पुराईएकाले त्यहाँ रहेका नेपालीहरुको संख्या २३ पुगेको छ । त्यस्तै वासिंटनमा रहेको जेलमा जुन महिनामा ३ जना नेपालीहरु रहेकोमा अहिले यो संख्या ६ पुगेको छ ।

‘हिराशतमा खाना प्याक गर्ने कागज ओढेर भूईमै सुत्यौं’

सरोज अधिकारी क्षेत्री, अमेरिकी जेलमा बसेर छुटेका नेपाली

(बाग्लुङका सरोज अधिकारी क्षेत्री (नाम परिवर्तन) दलाललाई ३५ लाख रुपैयाँ बुझाएर मेक्सिकोको बाटो हुँदै अमेरिकामा आएका व्यक्ति हुन् । उनी मेक्सिकोबाट अमेरिका छिर्नासाथ टेक्सासमा पक्राउ परे । पक्राउ परेपछि उनलाई केहीदिन अस्थायी हिरासतमा राखियो । त्यसपछि उनलाई एकसाता टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरमा राखियो । त्यसपछि उनलाई लुजियानाको लास्सेल डिटेन्सन सेन्टरमा सारियो । डिटेन्सन सेन्टरमा बस्दा उनको अनुभवबारे हामीले लामो कुराकानी गरेका थियौं । सोही कुराकानीको सम्पादित अंश ।)

मेक्सिकोबाट अमेरिका छिर्दा कसरी छिर्नुभयो ? र, कसरी पक्राउ पर्नुभयो ?

मेक्सिकोसम्म आइपुग्दा विभिन्न खालका समस्याहरु भोग्नुप¥यो । जंगलको बाटोदेखि समुन्द्रको बाटो हुँदै पनामामा जेलमासमेत बसियो । मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा आ–आफ्नो दलालको सम्बन्ध अनुशार हुन्छ । कसैलाई यो जंगलको बाटो जानु भनेर छाडिदिन्छ । तर यदि आफ्नो दलालको त्यहाँका दलालसँग राम्रो सम्बन्ध छ भने सहज बाटोबाट अगाडि बढाउँछ । मेरो हकमा चाँही मलाई मेक्सिकोको रेनोसा भन्ने ठाउँमा केही दिन राख्यो । यो टेक्सास छिर्ने सिमाक्षेत्रमा पर्दो रहेछ । रेनोसाबाट गाडीमा १५ मिनेटजति जंगलैजंगल अगाडि ल्यायो । त्यसपछि केहीबेर पैदल नै हिड्यौं । अमेरिकाको सिमा क्षेत्रमा एउटा सानो खोला रहेछ । दलालले सानो डुंगामा राखेर त्यो खोला पनि पार गराईदियो । पारीपट्टी अमेरिकाको सिमा सुरक्षाकर्मीहरुले हेरिरहेका थिए । खोला तरेर अमेरिकी भूभागमा आइसकेपछि हामी सबैले दुबैहात माथि ठड्यायौं । त्यहाँ हामी ६ जना नेपालीहरु थियौं । २ जना भारतीयहरु थिए । त्यसपछि हामी सबैलाई अमेरिकी सुरक्षाकर्मीहरुले पक्राउ गरे । हेलिकप्टरहरु माथि आकाशमा घुमिरहेका थिए । सुरक्षाकर्मीहरुले नभाग्न आदेश दिईरहेका थिए । हामीलाई पक्राउ गरेपछि उनीहरुले गाडीमा राखे । त्यसपछि एउटा हिरासतमा लगेर राखे । सुरुमा हामीलाई अलिकति जुस र पाउरोटी खान दियो । हामीलाई त्यस्तो खालको हिरासत तीन दिनसम्म राख्यो । ती हिरासतमा हामीले दुई दिनसम्म खाना प्याक गर्ने कागज ओढेर भूईमै सुत्यौं । केही घण्टा एक ठाउँमा राख्ने, त्यसपछि अर्कै ठाउँमा लैजाने, एउटा रात एक ठाउँमा राख्ने, अर्को रात अर्कै ठाउँमा राख्ने ग¥यो । अब के होला भनेर हामी सबै निकै आत्तिएका थियौं । त्यसपछि हामीलाई पोर्ट इशावेल डिटेन्सन सेन्टरमा ल्याईयो । 

पोर्ट इशावेल डिटेन्सन सेन्टरमा कस्तो अवस्था रह्यो ?

पोर्ट इशावेल डिटेन्सन सेन्टरमा ल्याउनुअगाडि हामीसँग सामान्य सोधपुछ भयो । त्यसपछि हामीलाई त्यहाँ भित्र राख्यो । मलाई सात दिनसम्म त्यहाँ राख्यो । त्यहाँ अरु थुपै्र नेपालीहरु पनि थिएँ । हामीलाई तीन दिनसम्म राखेको हिरासतभन्दा यो डिटेन्सन सेन्टर अलिक व्यवस्थित रहेछ । लत्ताकपडा, खानबस्न सबै राम्रो रहेछ । सफा पनि रहेछ । त्यहाँ ७ दिन बस्दा मलाई त आराम गर्ने स्थल जस्तो बन्यो । अमेरिका छिर्नु अगाडि त्यत्रो जंगलको बाटोमा निकै दुःखकष्ट भोग्नुपरेको थियो । भोकभोकै हिड्नुपर्दा निकै कमजोर महशुस भईरहेको थियो । के होला, ज्यूँदै अमेरिका पुगिएला कि नपुगिएला भन्ने तनाव पनि थियो । तर, जेलमा नै राखे पनि अमेरिका त आईयो भनेर ढुक्क भईयो । मेक्सिकोबाट एकसाथ अमेरिका छिरेका हामी आठैजनालाई त्यहाँ ल्याएको थियो । बीचमा धेरै कुराहरुमा छानविन पनि ग¥यो । त्यो जेलमा हुँदा अमेरिकामा रहेका साथीहरु र नेपालमा भएका आफन्तसँग फोनमा कुराकानी पनि गरें । कसरी आएको किन आएको भनेर अन्तरवार्ता लियो । भित्र जेलमा परिसकेपछि आफ्नो वकिल भएको वा आफन्त अमेरिकामा भएको कुरा नगर्दा नै राम्रो हुने रहेछ । नजिकको नातेदार नभएको भने पनि कुनै संघसंस्थाहरुले छुटाउने रहेछ ।

त्यसपछि लुजियानाको जेलमा सरुवा गरिसकेपछि कस्तो अवस्था रह्यो ?

पोर्ट इशावेल डिटेन्सन सेन्टरबाट मलाई लुजियानामा रहेको जेलमा ल्यायो । टेक्सासमा स्थानाभाव भएको भन्दै मलाई जेल सरुवा गरेको थियो । प्लेनमार्फत लुजियानाको जेलमा ल्यायो । हातमा हतकडी र खुट्टामा नेल लगाएर जेल सरुवा गरिएको थियो । लुजियानाको लास्सेल डिटेन्सन सेन्टर अझ राम्रो रहेछ । बस्न, खान राम्रो सुविधा रहेछ । खेलकुदका लागि पनि व्यवस्था रहेछ । मैले लुजियानाको जेलमा धेरै स्वतन्त्रता महशुस गरें । मलाई झण्डै १ महिनासम्म त्यहाँ राख्यो । त्यो अवधिमा हामी जेलमा रहेकाहरुलाई पालैपालो बोलाएर अन्तरवार्ता लिइयो । त्यहाँका अफिसरहरु पनि धेरै राम्रा रहेछन् । मैले त्यहाँ अन्तरवार्ता दिंदा सबै कुरा बताएँ । अन्तरवार्तापछि मलाई विना धरौटी रकम रिहा गरियो । 

टेक्सास वा लुजियानाको जेलमा बस्दा अरु कस्ता नेपालीहरु भेट्नुभयो ?

टेक्सासमा बस्दा महिनौंदेखि जेलमा बसेका नेपालीहरु पनि भेट्यौं । टेक्सासको जेलमा बाग्लुङका छन्त्याल थरका एकजना नेपाली थिए । उनी दिनहुँ हामीसँग रुन्थे । उनको अन्तरवार्ता पनि बिग्रिएछ । उनलाई जिम्मा लिने भनेर अमेरिकामा रहेको एकजना व्यक्तिले आश्वासन दिएको रहेछ । अन्तरवार्ता पनि सबै भएछ । अफिसरले अमेरिकामा रहेका ती व्यक्तिलाई छन्त्यालको जिम्मा लिन्छस् भनेर सोधेछ । तर त्यो व्यक्तिले जिम्मा नलिने बताएछ । त्यसपछि उनको अन्तरवार्ता बिग्रिएछ । त्यसकारणले उनी जेलबाट छुट्न नसकेका रहेछन् । वकिल लगाउन पनि उनीसँग पैसा रहेनछ । घरको आर्थिक अवस्था पनि निकै कमजोर रहेछ । दलाललाई बुझाएको बीस बाइस लाख पनि सम्पत्ति बेचेर, धितो राखेर र ऋण खोजेर जुटाएका रहेछन् । त्यो भन्दा धेरै पैसा जुटाउने कुनै उपाय रहेनछ । पछि उनलाई अमेरिकामा रहेको एउटा संस्थाले छुटाउनका लागि सहयोग गरेको रहेछ । तर पनि उनी जेलभित्रै थिए । रुँदारुँदा उनका आँखा पनि सुन्निएका थिए । उनको भनाई अनुशार उनी त्यो जेलमा बसेको वर्ष दिनभन्दा पनि धेरै भएको रहेछ । कतिपय त दुई वर्षसम्म पनि बसेका रहेछन् । जेलमा उनीजस्ता नेपाली अरु पनि थिए । लुजियानाका जेलमा भने तीन चार महिनाभन्दा माथि नबसेका नेपालीहरु रहेका रहेछन् । ५ हजार डलरभन्दा धेरै धरौटी रकम बुझाउनु नपरेका नेपालीहरु लुजियानामा भेटिए ।

अमेरिकामा आउँदै गर्दा पनामामा समातिएका १६ नेपालीहरु (पहिलाे तस्विर) । पनामामा केहीदिन जेलमा बसेपछि उनीहरुलाई रिहा गरिन्छ । त्यसपछि फेरी उनीहरुले अमेरिकातिरको यात्रा तय गर्छन् । कोष्टारिका हुँदै अमेरिका आउन लागेका १९ जना नेपालीहरु ( दाेश्राे तस्विर ) । साथमा श्रीलंका र घानाका नागरिकहरु पनि ।
‘जति सुविधा भएपनि जेल भनेको त जेल नै हो, बाहिरजस्तो स्वतन्त्रता हुँदैन’

बासु फुलारा, कानुन व्यवसायी

(न्युयोर्कका चर्चित कानुन व्यवसायी बासु फुलारा अमेरिकाका कैयन अध्यागमन जेलहरुमा पुगेका छन् । त्यहाँ पुगेर जेलभित्र रहेका कैयन नेपालीहरुसँग कुराकानी पनि गरेका छन् । जेल भित्र रहेका कैयन नेपालीहरुका मुद्दा लडेर जेलबाट छुटाएका पनि छन् । उनले मुद्दा लडेर जेलबाट छुटेका कैयन नेपालीहरुले एसाइलम गरेर ग्रीनकार्ड समेत पाईसकेका छन् । केही दिन अगाडि टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरमा पुगेका फुलारासँग डिटेन्सन सेन्टरको परिसरमै लिईएको अन्तरवार्ताको मुख्य अंश ।)

नेपालीहरुको मुद्दाका सन्दर्भमा तपाई अहिलेसम्म कति अध्यागमन जेलहरुमा पुग्नुभयो ? अवस्था के छ ?

म धेरै राज्यहरुमा अध्यागमनका मुद्दाका सन्दर्भमा पुग्ने गरेको छु । झण्डै दुई दर्जन राज्यहरुमा अध्यागमनका मुद्दाका सन्दर्भमा म पुगेको छु । टेक्सासदेखि साउदर्न बोर्डर हुँदै बफेलोसम्मका कैयन अध्यागमन जेलहरुमा म पुगेको छु । अध्यागमन जेलमा भएका अधिकांश नेपालीहरु मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिकामा आउनेहरु छन् । अध्यागमन जेलहरुमा पुगेर नेपालीहरुसँग कुराकानी गर्दा अधिकांशले मेक्सिकोबाट अमेरिकामा छिर्दै गर्दा पक्राउ परेको बताउने गरेका छन् । टेक्सासको सिमानादेखि एरिजोनाको सिमानासम्मबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा उनीहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुले आफू नेपालमा जान नसक्ने अवस्था भएकाले अमेरिका आएको कुरा हामीसँग बताउने गरेका छन् । उनीहरुका मुद्दाहरु अदालतमा पनि पेन्डिङ अवस्थामा रहेका हुन्छन् । कतिजना धरौटीमा रिहा भएका पनि छन् । धरौटीमा रिहा भइसकेपछि उनीहरुले आफ्नो स्थान परिवर्तन पनि गर्छन् । उदाहरणका लागि टेक्सासबाट अमेरिका छिरेकाहरु पक्राउ परेर धरौटीमा रिहा भएपनि न्युयोर्क आएर न्युयोर्ककै अदालतमा उनीहरुको मुद्दा सारेको पनि पाइन्छ । डिटेन्सन सेन्टर (अध्यागमन जेल) वरपर वा त्यो क्षेत्रमा बस्ने गरेको कमैमात्र देखिएको छ । मुख्य हब टेक्सास, एरिजोना लगायतका क्षेत्र भएपनि केही बन्दीहरुलाई न्युयोर्कको बफेलोमा पनि सार्ने गरेको छ ।

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले छापा मार्दा भिसा अवधिभन्दा धेरै बसेका वा अध्यागमन कानुन उल्लंघन गरेकाहरु पनि पक्राउ पर्ने गरेका छन् । त्यसरी पक्राउ परेका नेपालीका मुद्दाबारे तपाईको अनुभव के छ ?

त्यसरी पक्राउ परेका नेपालीहरु थोरैमात्र रहे पनि अधिकांश सिमाक्षेत्रबाटै अमेरिका छिर्नेहरु रहेका छन् । नेपालीहरुको आपराधिक इतिहास त्यति धेरै देखिदैन । आईसले छापामार्दा वा कुनै राज्यमा कसैले अपराध गरेको छ भने बन्दीगृहमा राखिएका त्यस्ता नेपालीहरु १० देखि १५ प्रतिशत रहेका छन् । तर, प्रायजसो बन्दीगृहमा रहेकाहरु अध्यागमन कानुनको उल्लंघन गर्दै सिमाक्षेत्रबाट छिरेकाहरु नै छन् । मेक्सिको लगायतका देशका व्यक्ति पटकपटक डिपोर्टेशनमा पर्दा पनि अमेरिका छिरेको इतिहास भए पनि प्रायजसो निरीक्षण विना छिरेकाहरु (ईडब्लुआई) का नेपालीहरुका सन्दर्भमा उनीहरुको पुरानो त्यस्तोखाले इमिग्रेशन इतिहास देखिंदैन । नेपालीहरुले अपराध गरेको कमै रेकर्ड छ । उनीहरुलाई केहीसमय इमिग्रेशन जेलमा १५ सयदेखि पच्चिस तीस हजार डलरसम्म धरौटी तोकेर रिहा गर्ने गरिएको पाइन्छ । यसरी धरौटीमा छुट्ने नेपालीहरु धेरै छन् । यदि उनीहरु धरौटीमा छुटेका छैनन् भने उनीहरुका लागि व्यक्तिगत सुनुवाईको मिति दिइन्छ । एसाइलम फाइल गरेका व्यक्तिलाई धरौटीमा रिहा गरिएन भने उनीहरुको अदालती सुनुवाई अलिक छिटो हुने गरेको पनि देखिएको छ । नेपाललाई अमेरिकी सरकारले टीपीएस प्रदान गरिसकेपछि माहौल अलिकति नयाँ बनेको छ । हामीले जेलमा रहेका केही नेपालीको प्रतिनिधित्व गरेर टीपीएसका लागि आवेदन दिएका छौं । तर टीपीएस आउँदैमा अदालतबाट छुट्ने भन्ने नहुन सक्छ । न्यायाधिसले त्यसबारे समझदारी त गर्न सक्छ । तर न्यायाधिसलाई टीपीएस दिने अधिकार हुँदैन । टीपीएसबारे काम गर्ने होमल्याण्ड सेक्युरिटी अन्तरगत युएससीआईएसले हो ।

अध्यागमन जेलभित्र रहेका नेपालीहरुको अवस्था कस्तो छ ? उनीहरुले तपाईसँग जेलको अवस्थाबारे पनि केही गुनासो गर्ने गरेका छन् ?

अध्यागमन जेलमा एकदुईजना बस्ने भन्ने हुँदैन । त्यहाँ सामुहिक रुपमा धेरै मान्छेहरुलाई राखिएको हुन्छ । त्यहाँ प्रदान गरिने खाना स्वास्थ्यवर्धक नै हुने सुनिने गरेको छ । जेलभित्र अरु खाले समस्याहरु भए पनि खानाबारे जेलभित्र रहेका नेपालीहरुले गुनासो गरेको मैले सुनेको छैन । मैले खानपिन र स्वास्थ्यउपचारबारे बेलाबेलामा सोध्ने पनि गरेको छु । उनीहरुले एउटै कोठामा धेरैजना हुँदा मिलेर बस्नुपर्ने र धेरैजना भएका कारण समस्या हुने गरेको बताए पनि खानाका बारेमा गुनासो गरेका छैनन् । तर जेल भनेको त जेल नै हो । बाहिरजस्तो जेलभित्र स्वतन्त्रता हुने कुरा भएन । स्वास्थ्य र खानाका बारेमा नेपालीहरुले खासै कम्प्लेन गरेका छैनन् ।


अध्यागमन जेलमा कोही नेपालीहरु छिट्टै छुट्छन् भने कोही महिनौंसम्म पनि छुट्न सकेका हुँदैनन् । के कारणले यस्तो हुनेगर्छ ?

यो मुद्दाहरुमा भरपर्छ । कतिपयको अध्यागमन इतिहासमा कुनै खराबी नहुँदा नहुँदै पनि धरौटीमा रिहा नगरेका घटनाहरु छन् । अध्यागमन जेलमा राख्नुको अर्थ मुद्दा लम्बाउने भन्ने होइन । कानुनी रुपमा पनि अध्यमगन जेलका मुद्दाहरु अत्यन्तै छिटो हेर्ने गरिएको छ । औंठाछाप लिएर पृष्ठभूमी परीक्षण गर्दा पनि अध्यागमन जेलमा बाहिरजस्तो ढिलो हुँदैन । कुनै अवस्थामा १ वर्ष वा त्यो भन्दा पनि ढिलो अवधीसम्म नेपालीहरुलाई अध्यागमन जेलमा राखिएको पाइन्छ । तर अध्यागमन जेलमा त्यहाँभित्रको खाना खुवाएर धेरै समय राख्ने सरकारी अवधारणा होइन । यदि कोही व्यक्ति आपराधिक मुद्दामा छ, अध्यागमन इतिहास खराब छ भने जेलभित्र राख्ने अवधि लम्बिन पनि सक्छ । धरौटीमा रिहा गर्नका लागि अनुरोध गरिएपछि कतिपयलाई त पैसा नलिइकनै पनि रिहा गरिएको पाइन्छ । धरौटीमा रिहा गरिएन भने र त्यो व्यक्ति एसाइलमका लागि योग्य छ भने एसाइलमको आवेदन दिन सक्छ । एसाइलमको मुद्दा जितेमा विना धरौटी ग्रीन कार्ड नै पाउनेगरी रिहा गरिन्छ । तर एसाइलमका लागि योग्य नभएमा वा एसाइलमको मुद्दा हारेमा उसलाई डिपोर्ट गरिन्छ ।

अहिले अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जा प्रदान गरिसकेपछि अध्यागमन जेलमा रहेका नेपाली बन्दीहरुले टीपीएसका लागि आवेदन दिएर जेलबाट छुट्नसक्ने सम्भावना कत्तिको रहन्छ ?

अध्यागमन जेलमा रहेका नेपाली बन्दीहरु पनि टीपीएसको आवेदनका लागि योग्य हुन्छन् । तर उनीहरुले टीपीएसका लागि प्रकृया अपनाउनुपर्छ । टीपीएस दिने अधिकार न्यायाधिसलाई हुँदैन । टीपीएसबारे अध्यागमन जेलमा रहेका नेपालीहरुलाई के प्रावधान हुने भन्ने गाइडलाइन अहिले पनि निस्केको छैन । टीपीएसको दर्जा प्रदान गर्नासाथ म टेक्सासको सिमाक्षेत्रमा रहेका जेलमा रहेका नेपालीहरुलाई भेट्न गएको थिएँ । टीपीएसको गाइडलाइन सरकारी वकिलहरुलाई पनि आएको छैन । तर नेपाली बन्दीहरुको टीपीएस आवेदन स्वीकृत भएमा उनीहरु विना धरौटी बन्दीगृहहरुबाट छुट्नसक्ने सम्भावना छ । टीपीएसबाट छुटेपछि पनि उसको मुद्दा अदालतमा भने चलिरहेको हुन्छ ।

बन्दीगृहबाट धरौटीमा छुटेका नेपालीहरुको बाँकी भविश्य केमा भरपर्छ ?

कुनै व्यक्ति धरौटीमा छुटेपछि उसको मुद्दाबारे फैसला हुन्छ । मुद्दाको फैसलापछि धरौटीबापत राखेको रकम फिर्ता पाउन सकिन्छ । धरौटीको सुनुवाई र एसाइलमको सुनुवाई फरक फरक हुन्छ । कुनै पनि बन्दीको वकिलले धरौटीमा छुटाउनका लागि आवेदन दिनसक्छ । अफिसरले धरौटीमा रिहा गर्न अस्वीकार गरेमा त्यो मुद्दा अदालतमा जान्छ । त्यतिबेला धरौटीको सुनुवाईमा न्यायाधिसले पनि धरौटीमा रिहा नगर्ने फैसला गरेमा व्यक्ति बन्दीगृहभित्रै बसिरहनुपर्छ । धरौटीमा रिहा गर्ने फैसला भएमा धरौटी राखेर व्यक्ति रिहा हुन्छ । धरौटीमा रिहा भएको व्यक्तिले एसाइलम वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएमा उसलाई देश निकालाको फैसला हुन्छ । तर अहिले टीपीएसका लागि आवेदन दिएमा र त्यस्तो आवेदन स्वीकृत भएमा भने उसले टीपीएस अवधिभरका लागि अस्थायी सुरक्षा प्राप्त गर्छ । धरौटीमा रिहा भएपनि रिहा नभएपनि एसाइलम वा टीपीएस फाइल गरेको छैन वा फाइल गरेर पनि स्वीकृत भएन भने उसको भविश्य डिपोर्टेशन नै हो । 


स्थलगत भ्रमणका क्रममा टेक्सासमा रहेको पोर्ट इशावेल डिटेन्सन सेन्टर अगाडि कानुन व्यवसायी बासु फुलारासँग कुराकानी गर्दै पत्रकार किशोर पन्थी ।

‘दुब्र्यबहार भएमा बन्दीहरुले मौखिक र लिखित रुपमा उजुरी गर्नसक्ने प्रणाली छ’

भिन्सेन्ट पिकार्ड, प्रवक्ता, युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट –आईस)

(अमेरिकामा रहेका सबै अध्यागमन जेलहरु युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) को माताहतमा संचालन भइरहेका छन् । हामीले त्यस्ता अध्यागमन जेलहरुको अवस्था, त्यहाँ रहेका नेपालीहरुको अवस्थालगायतका विषयमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस)का प्रवक्ता भिन्सेन्ट पिकार्डसँग विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको मुख्य अंश ।)

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले कसरी गैरकानुनी रुपमा अमेरिका छिरेकाहरुलाई पक्राउ गर्छ र बन्दीगृहमा राख्छ ? युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले पक्राउ परेकाहरुलाई कसरी आईसलाई हस्तान्तरण गर्छ ? आईस र सीबीपीबीचको सम्बन्ध के हो ?

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) र युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतका दुइवटा भगिनी संगठनहरु हुन् । सीबीपी बर्दीधारी प्रहरी निकायजस्तै काममा लागिरहेको हुन्छ । सीबीपीले अमेरिका छिर्ने नाकाहरुमा काम गर्छ । उनीहरुले  अमेरिका छिर्दै गरेका र अमेरिकाबाट बाहिर जाँदै गरेका व्यक्ति र उनीहरुका सामानहरुको परीक्षण गर्छन् । तर आईसले भने होमल्याण्ड सेक्युरिटी अन्तरगत बर्दीधारी प्रहरी निकायका लागि जासुसी र अनुसन्धानकर्ताका रुपमा काम गर्छ । आईसले सीबीपीसँग मिलेर अनुसन्धानको त्यस्ता क्षेत्रमा काम गर्छ, जसमा अमेरिकाको संघीय कानुनको उल्लंघन भएको हुनसक्छ । त्यसैगरी आईसले अमेरिकाभित्रको भूभागमा अमेरिकी अध्यागमन कानुन कार्यान्वयनका क्षेत्रमा समेत काम गर्छ । अमेरिका आउँदै गरेका त्यस्ता व्यक्ति जो अमेरिकामा रहनका लागि स्वीकृतिप्राप्त छैनन् उनीहरुकाबारेमा अनुसन्धान गर्छ । त्यस्तै कोही व्यक्ति कानुनी रुपमा नै अमेरिकामा छिरेको छ तर उसले केही अपराध गर्छ, भिसा अवधिभन्दा धेरै बसेको छ वा कुनै कारणवश कानुनी इमिग्रेशन स्टाटस गुमाएको छ भने त्यस्ता व्यक्तिलाई आईसले हिराशतमा लिनसक्छ र डिपोर्टेशनको प्रकृयामा हाल्न सक्छ ।

कस्तो अवस्थामा गैरकानुनी रुपमा अमेरिका छिरेकाहरुलाई बन्दीगृहमा राखिन्छ र कस्तो अवस्थामा तुरुन्तै जताबाट आएको हो उतै फर्काइन्छ ?

हामीसँग अध्यागमन कार्यान्वयन र अमेरिकामा कुनै व्यक्तिको प्रवेशका सम्बन्धमा धेरै स्पष्ट प्राथमिकता र अवधारणाहरु छन् । म सीबीपी कसरी कृयाशिल हुन्छ भन्ने बारेमा केही बताउन सक्दिन । किनभने उनीहरुका आफ्नैखाले प्रकृयाहरु छन् । तर, आईसका सन्दर्भमा हामीले अमेरिकामा गैरकानुनीरुपमा भर्खरै छिरेका वा अमेरिकामा अपराध गरेका व्यक्ति विरुद्ध अध्यागमन कार्यान्वयनका लागि केन्द्रित हुने प्रयास गरिरहेका छौं । त्यस्ता व्यक्तिलाई हिरासतमा लिने र डिपोर्टेशनको प्रकृयामा हाल्नेमा हामी केन्द्रित छौं । यदि कोही व्यक्ति अमेरिकामा भिजिटर भिसामा आउँछ र त्यसपछि उसले मादकपदार्थ लिएर गाडी चलाउँछ भने त्यस्तो व्यक्तिलाई आईसले हिरासतमा राख्छ । सुरुमा जुन एजेन्सीले त्यस्तो व्यक्तिलाई पक्राउ गरेको हो, उसैमार्फत त्यस्तो व्यक्तिमाथि लागेको आपराधिक अभियोगबारे हेरिन्छ । जब उसमाथि लागेको आपराधिक अभियोगबारे फैसला भएर सबै सेटल हुन्छ अर्थात् उसले गरेको अपराधका लागि सजाय भोग्छ त्यसपछि उसलाई आईसले डिपोर्टेशनका लागि हिराशतमा राख्छ । त्यसैले हामीले अमेरिकामा अपराध गर्नेहरु र गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुविरुद्ध ध्यान केन्द्रित गरिरहेका हुन्छौं ।

अमेरिकामा आईसको बन्दिगृहमा धेरै सानो प्रतिशतमा मात्र मान्छेहरु रहेका छन् । अमेरिकाबाट डिपोर्ट हुनसक्नेगरी इमिग्रेशन अदालतमा डिपोर्टको प्रकृयामा रहेका मुद्दाहरु अत्यन्तै कम छन् । कागजपत्र नभएकाहरुको कुल संख्याको त्यस्तै २ प्रतिशत मात्र बन्दीगृहमा छन् । कुनै व्यक्ति आईसको हिराशतमा आइसकेपछि हामीले उसको मुद्दा हेर्छौं । हामीले जे गर्दा बढी उपयुक्त हुन्छ त्यही हिसाबले निर्णय लिन्छौं । केही व्यक्तिलाई अमेरिकाको कानुन अनुशार अनिवार्य डिपोर्ट गर्नुपर्ने हुन्छ । साधारणतया जसले गम्भिर प्रकारका अपराध गरेको छ, उसलाई डिपोर्ट गर्नैपर्ने हुन्छ । अमेरिकाको कानुन अनुशार कसैले जघन्य अपराध गरेको छ भने वा अमेरिकामा गैरकानुनी रुपमा बसिरहेको छ भने त्यस्ता व्यक्तिलाई हामीले बन्दीगृहमा राख्न गइरहेको हुन्छौं र उसलाई अमेरिकाबाट देशनिकाला गर्नका लागि प्रभावकारिता खोजिरहेका हुन्छौं । हामीले गैरकानुनी रुपमा तत्काल अमेरिका छिरेकाहरुलाई बन्दीगृहमा राख्न प्राथमिकता दिन्छौं । जस्तो कुनै व्यक्ति मेक्सिकोबाट गैरकानुनी रुपमा सिमापार गरेर हिडेर अमेरिका छिर्छ र उसले अमेरिकामा बस्नुपर्ने कुनै कारण पेश गर्न सक्दैन भने त्यस्तो व्यक्तिलाई हामी उसैको देशमा यथाशक्य फिर्ता पठाउँछौं । आईसको बन्दीगृहमा ९८ प्रतिशत मान्छेहरु भर्खरै गैरकानुनी रुपमा सिमा पार गरेर आएकाहरु वा अमेरिकामा अपराध गरेर डिपोर्टशेनको प्रकृयामा रहेकाहरु छन् । त्यो बाहेकका व्यक्तिहरुलाई हामीले हिराशतमा लिदैनौं । उनीहरुको मुद्दा अध्यागमन अदालतमा हुन्छ, उनीहरु अमेरिकाबाट देश निकालाको प्रकृयामा हुन्छन् तर पनि उनीहरु परिवारसँगै बसिरहेका हुन्छन्, उनीहरु हरेक केही महिनामा अदालतमा उपस्थित हुन्छन्, उनीहरुलाई हामीले हिराशतमा लिदैनौं ।
      
कोही व्यक्तिलाई हिराशतमा लिइसकेपछि डिपोर्टेशनको प्रकृया कस्तो हुन्छ ? के उनीहरु फेरी भिसामा अमेरिका आउन सक्छन् ?

यो विभिन्न कुरामा भरपर्छ । हरेक व्यक्तिका मुद्दा फरक हुन्छन् । जब कोही व्यक्ति अमेरिकाबाट डिपोर्ट हुन्छ उसका लागि अमेरिका छिर्न फरक फरक खालका बार लाग्छ । त्यो बार भनेको त्यस्तो व्यक्तिले निश्चित समयसम्मका लागि अमेरिका आउनका लागि भिसा वा कागजात नपाउने हो । कहिलेकाँही यस्तो बार ५ वर्षको हुन्छ, कहिले १० वर्षको हुन्छ भने कहिलेकाँही २० वर्षको पनि हुनसक्छ । कोही व्यक्तिले आक्रमणको अपराध गरेको छ र उसले आफ्नो सजाय जेलमा काटेर डिपोर्ट भएको छ भने उसलाई पुनः अमेरिका छिर्नका लागि २० वर्षको बार लाग्छ । तर कुनै पनि व्यक्तिले बार हटाउनका लागि सुविधाका लागि अनुरोध गर्न त सक्छ, तर त्यो प्रकृया निकै जटिल हुन्छ ।

आईसको बन्दिगृहमा रहेका व्यक्तिले एसाइलमका लागि आवेदन दिएमा के प्रकृया हुन्छ ? केही रिपोर्ट अनुशार केही व्यक्ति लामो समयसम्म पनि बन्दीगृहमा राखिएको पाइन्छ । बन्दीगृहमा रहेको व्यक्ति मुक्त हुनका लागि कति समयसम्म लाग्छ ?

हामीले एसाइलमको काम गर्दैनौं । युएससीआईएसले गर्छ । एसाइलमको लागि दावी गर्ने एउटा प्रकृया हो । त्यसबारे युएससीआईएसले एसाइलम गर्ने व्यक्तिलाई उसको देश फर्कनका लागि उपयुक्त डर भए नभएको निक्र्यौल गर्छ । त्यसै अनुशार प्रकृया अगाडि बढ्छ । हरेक व्यक्तिका केस फरक हुन सक्छन् । एसाइलम दावीको आधारमा धेरैकुरा फरक पर्छ । उनीहरुको पृष्ठभूमी र इतिहासले धेरै कुराको प्रभाव पार्ने भएकाले हरेकको मुद्दा हेरेर निक्र्यौल गरिन्छ ।

बन्दीगृहमा रहेका व्यक्तिमाथि दुब्र्यबहार हुने गरेका कैयन रिपोर्टहरु आउने गरेका छन् । यस्तो अवस्थाको सुधारका लागि कुनै पहल भईरहेको छ ?

हामीसँग बन्दीहरुको राम्रो हेरचाह भएको निश्चित गर्ने कामयावी संयन्त्र छ । बन्दीहरुको स्वास्थ्य र सुविधा आइस र सम्बन्धित निकायका लागि धेरै महत्वपूर्ण विषय हो । वास्तवमा कुनै पनि व्यक्ति बन्दीगृहमा जान चाँहदैन । कुनै पनि व्यक्तिले हाम्रो स्वतन्त्रता गुमाउँदा आनन्दित हुन सक्दैन । त्यसैले हामीले व्यक्तिका असन्तुष्टि बुझ्छौं । तर हामीसँग बन्दीहरुमाथि दुब्र्यबहार नभएको निश्चित गर्ने संयन्त्रहरु छन् । कसैमाथि नराम्रो व्यवहार भएमा बन्दीहरुले पैसा नलाग्ने नम्बरमा फोन गरेर यसबारे जानकारी दिन सक्छन् । उनीहरुले कर्मचारीविरुद्ध उजुरी गर्न सक्ने प्रणाली पनि छ । उनीहरुले राम्रो खाना वा स्वास्थ्यउपचार पाएका छैनन् भने फर्म भरेर उजुरी दर्ता गराउन पनि सक्छन् । त्यसैले उनीहरुका कुनै गुनासा भएमा त्यसबारे उजुरी गर्ने थुप्रै उपायहरु छन् । धेरैजसो समय कैयन संगठनहरुबाट अज्ञात रुपमा उजुरीहरु आएका हुन्छन्, जसमा उनीहरुले सबै डिटेन्सन सेन्टरहरु बन्द गराउन चाहेका हुन्छन् । हामीले त्यस्ता दावी र उजुरीहरुलाई सम्बोधन गर्नका लागि सक्दो प्रयास गरिरहेका हुन्छौं ।  यसबारे कुनै निश्चित उजुरी आउँदा हामी त्यस्तो आरोपको अनुसन्धान गर्छौं । तर साधारणतया हामीले उजुरी गरिजस्तो अवस्था पाउँदैनौं ।

अब नेपालको बारेमा कुरा गरौं, गत महिना अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जा दियो । नेपाली बन्दीहरुका सन्दर्भमा अब कसरी आईसले उनीहरुलाई टीपीएसका लागि आवेदन दिनका लागि मौका प्रदान गर्छ ? उनीहरु आफै पनि टीपीएसका लागि आवेदन दिन सक्छन् वा कुनै वकिल लगाउन सक्छन् ?

टीपीएस भनेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस हो । यो आईस आफैले गर्दैन । यसबारे पनि युएससीआईएसले काम गर्छ । त्यसैले म बन्दीहरुका सन्दर्भमा टीपीएसले कसरी काम गर्छ भन्नेबारे अहिले नै बताउन सक्दिन । बन्दीगृहमा रहेका सबै बन्दीहरुसमक्ष लाइब्रेरीसम्मको पहुँच हुन्छ । लाइबे्ररीबाट उनीहरुले अध्यागमन कानुन र प्रणालीका बारेमा धेरै जानकारी पाउन सक्छन् । बन्दीगृहमा सबै प्रकारका कागजातहरु उपलब्ध छन् । कसरी आवेदन दिने, कुन फर्म प्रयोग गर्ने लगायतका सबै विधिहरु उनीहरुले लाइब्रेरीबाट सिक्न सक्छन् । बन्दीगृहमा रहेका बन्दीहरुका सन्दर्भमा टीपीएसको प्रकृया के हुन्छ भन्ने सन्दर्भमा हामीलाई कुनै सर्कुलेशन नआएकाले मलाई यसबारेमा थाहा छैन ।

उसो भए होमल्याण्ड सेक्युरीटीले नेपाललाई टीपीएसको दर्जामा राखेपछि पनि आइसले कागजपत्र विहिन नेपालीहरुलाई पक्राउ गर्छ त ?

मैले यसबारेमा निश्चित मुद्दाहरुलाई हेर्नुपर्छ । यदि कसैले कुनै अपराध गर्छ भने उसले टीपीएस गुमाउन सक्छ । टीपीएस पाएको व्यक्तिले अपराध गर्दा उसलाई पक्राउ नगर्ने भन्ने कुरा हुँदैन । टीपीएसबारे आइसको कार्यक्षेत्रभित्र नपर्ने हुँदा म यसबारे अहिले केही भन्न सक्दिन ।

अमेरिकामा रहेका अन्य जेलहरु र आईसले संचालन गर्ने बन्दीगृहमा के फरक छ ?

आईसले संचालन गर्ने बन्दीगृहहरु नागरिक बन्दीगृहहरु हुन् । हामीले कसैलाई दण्ड दिनका लागि नभई अध्यागमन कानुनको कार्यान्वयनको प्रकृयामा मात्र व्यक्तिलाई बन्दीगृहमा राख्छौं । त्यसैले आइसले संचालन गर्ने बन्दीगृह र अपराधीहरुलाई दण्डित गर्नका लागि राखिने बन्दीगृहरुबीच धेरै कुराको समानता र धेरै कुराको फरक छ । नागरिक बन्दीगृहहरु अल्क्षी प्रकारका हुँदैनन् । हाम्रा बन्दीगृहहरुमा औषतमा व्यक्तिलाई एकमहिनासम्म राख्ने गरिन्छ । सामान्यतया कुनै व्यक्तिलाई आइसको हिराशतमा ल्याइसकिएपछि राख्ने अवधि औषतमा ३० दिन रहेपनि हालका दिनमा त्यो अलिकति लामो हुनसक्छ ।

मानवतस्करहरुले अमेरिका छिराउने व्यक्ति पक्राउ पर्ने गर्छन् तर मानवतस्कहरु भने खुलेआम घुमिरहन्छन् । यसबारे आईस सचेत छ ?

अहिले नेपाली मानव तस्करबारे हामीले कुनै अनुसन्धान सुरु गरिसकेका छैनौं । मानव तस्करीका सन्दर्भमा हामीसँग विभिन्न खालका कार्यक्रमहरु छन् । हामीले मानवतस्करहरु विरुद्ध अपराध गरेका र अध्यागमन प्रणालीविरुद्ध गतिविधि गरेका मुद्दाहरु लगाउँछौं ।