प्रहरीमा मिलापत्र गरेको एक घन्टामै श्रीमतीको हत्या

३ साउन, काठमाडौं । बारम्बार फोन आएको विषयलाई लिएर भएको विवादमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । सिराहा घर भएका जाबिर अन्सारीले बिहीबार भक्तपुरमा श्रीमती साहादाजी खातुनको हत्या गरेका हुन् ।

आपसी झगडा भएपछि बिहीबार बेलुका उनीहरू बालकोट प्रहरी प्रभागमा मिलापत्र गरेर घर फर्किएका थिए । फर्कने क्रममा श्रीमतीको मोबाइलमा अन्य युवकको फोन आएको भन्दै अन्सारीले बाटोमै श्रीमतीको हत्या गरेर हनुमन्ते खोलामा फालेको नयाँ पत्रिकामा खबर छ ।

प्रहरीले शुक्रबार अन्सारीलाई पक्राउ गरेको छ । हत्यापछि कालोपुलस्थित भाउजूको डेरामा लुकेका उनलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने र त्यही विषयमा सधैँ उनीहरूबीच झगडा हुँदै आएको थियो ।

पक्राउ परेका अन्सारीले आफूले श्रीमतीको हत्या गरेर फालेको स्विकारेका छन् । महानगरीय प्रहरी वृत्त सानोठिमीका डिएसपी भीमकिरण बोगटीका अनुसार शव फाल्न सहयोग गरेकी उनकी भाउजू सुनसरी घर भएकी मनिका चौधरीसमेत पक्राउ परेकी छिन् ।

खातुनको शव खोलाछेउमा शुक्रबार भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । महानगरीय अपराध महाशाखा टेकु र ठिमी वृत्तले संयुक्त रूपमा अनुसन्धान गरी अन्सारीलाई दुई दिनभित्रै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले दुई वर्षअघि मात्र भागीविवाह गरेका थिए । उनीहरू बालकोटस्थित पाथीभरा ब्याग उद्योगमा काम गर्दै आएका थिए । दुवैजना सोही उद्योग परिसरमा रहेको कोठामा बस्दै आएका थिए ।